भैरहवा–रुपन्देहीमा आज सोमबार ११७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
लुम्बिनी प्रादेशिक अस्पतालले जिन एक्सपर्ट ल्याबमा देखिएका संक्रमितहरुको संख्या आज मात्रै जनस्वास्थ्य कार्यालयमा पठाएकोले तथ्यांकमा संक्रमितहरु संख्या बढी देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले लुम्बिनी टाइम्सलाई जानकारी दिए।
आज थपिएका सबै संक्रमित पछिल्लो २४ घण्टाको मात्र नभई पहिला संक्रमण देखिएको तर स्वास्थ्य कार्यालयको तथ्याङमा नजोडिएको हो।
सोमबार साँझ ६ बजेसम्म विभिन्न ल्याबबाट आएको रिर्पोटअनुसार पछिल्लो २४ घण्टामा १६ जनामा मात्र संक्रमण पुष्टि भएको कोभिड फोकल पर्सन शाहले जानकारी दिए।
उनका अनुसार बुटवल उपमहानगरपलिकामा १० जना, देवदह र सिद्धार्थनगरमा ३/३ जनाा संक्रमण पुष्टि भएको छ। बाँकी १०१ जना संक्रमित पहिलाकै संक्रमित हुन तथ्यांकमा मात्र आज समावेश भएको छ।
जिल्लामा संक्रमितमध्ये निको हुनेको संख्या बढेको छ। हिजो आइतबार मात्रै ५३ जना संक्रमित संक्रमण मुक्त भएका थिए भने आज ९२ जना संक्रमित निको भइ घर फर्केका छन्।
आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार ७ सय ६२ पुगेको छ।
कार्यालयको अनुसार हालसम्म १८ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट ९८४ जना निको भएर फर्किसकेका छन् भने ७६० जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन्।