बुटवल- फेसबुक म्यासेन्जरमा यतिबेला होण्डाको ७० औं वार्षिकोत्सवको शुभकामनासहितको म्यासेज लिंक फैलिरिहेको छ। लिङ्कमा क्लिक गरेपछि स्कुटर उपहार जितेको सन्देशसहित केही नियमहरू राखिन्छ। लिंक सहितको म्यासेज कम्तिमा २० जनालाई अथवा ५ वटा ग्रुपमा पठाइ त्यसमा आफ्नो ठेगाना दर्ता गराउनुपर्ने भनिएको छ । त्यसको ५ देखी ७ दिनमा स्कुटर डेलिभरी गरिने उल्लेख छ।
म्यासेजमा उल्लेख गरिएजस्तो जापानी कार तथा मोटरसाइकल निर्माता होन्डाको ७० औं वार्षिकोत्सव अहिले होइन। सन् २०१८ सेप्टेम्बर २४ मै होन्डा स्थापनाको ७० वर्ष पूरा भैसकेको छ। ७० औं वर्ष पूरा भएको तीन वर्षपछि कुनै कम्पनीले यसरी उपहार सार्वजनिक गर्ने उदाहरण पनि छैनन्।
त्यसैले तपाईंले म्यासेजको लिंकमा भनेका यी कुनै पनि नियम पालना नगर्नुहोस् । अझ म्यासेन्जरमा आएको लिङ्क पनि नखोल्नुहोला। किनकि तपाईंलाई झुक्याएर तपाईंसँग सम्बन्धित सूचना सङ्कलन गर्न जारी गरिएको ‘स्पाम’ म्यासेज हो। यस्ता म्यासेजहरु हामीले सोचेजस्तो एकछिन झुक्याउन वा दुःख दिन मात्रै पठाइँदैन। बरु त्यस्ता म्यासेजहरु दूरगामी प्रयोजनका लागि पठाइएका हुन्छन्।
यस्ता म्यासेज कतिपय अवस्थामा फेसबुक लगायत सामाजिक सञ्जालमा अनधिकृत पहुँचको माध्यम पनि बन्न सक्छन्। यस्ता म्यासेजले तत्कालै हानी नपु¥याएपनि लिङ्कमा प्रवेश गरेपछि स्पामरहरू तपाईंसँग सम्बन्धित सूचनामा पहुँच राख्न सक्छन्।
होन्डा जस्तै यसअघि अमेजनको वार्षिकोत्सव भन्दै यस्तै लिङ्क व्हाट्सएपमा समेत देखिएको थियो । विजेताले ह्वावेको मोबाइल पाउने सन्देशसहित होन्डाको जस्तै नियमहरू यसमा राखिएको थियो । तर व्हाट्सएपको प्रयोगकर्ता म्यासेन्जरको तुलनामा धेरै नभएकोले यसले त्यति धेरै चर्चा पाएन।
नेपालमा म्यासेन्जर प्रयोगकर्ताको संख्या बढी भएकोले होन्डाको म्यासेन्ज लिङ्क सजिलै अनि छिटो फैलिन सम्भव भयो । त्यहाँ राखिएका नियम अथवा शर्तले पनि यसलाई फैलाउन सहयोग पुर्यायो । यस्ता स्पाम म्यासेजमा प्रवेश गर्दा भविष्यमा अप्ठ्यारो पर्न सक्ने भएकोले तपाईं भने सुरक्षित रहनुहोला।