बुटवल । हालसालै समाजिक सञ्जालहरुमा कोभिड–१९ विरुद्ध खोप लगाएका मानिसको शरिरमा फलामे वस्तुहरु टाँसिएको भन्ने सन्देशसहित फोटो र भिडियोहरु भाइरल भइरहेका छन् । युरोप, अमेरिका, भारत र नेपालमा समेत केही मानिसहरुले खोप लगाएकै कारण आफ्नो शरिरमा चुम्बकीय शक्ति पैदा भएको र फलामे बस्तु तथा चुम्बकलाई शरिरले तानिरहेको भन्ने सन्देश फैलाइरहेका छन् ।
तर, अनलाईनमा भाइरल भएका ती सामग्रीहरु मिथ्या रहेकाे भारत सरकारले बताएको छ । भारतको केन्द्र सरकारले कोभिड–१९ को खोपले मानिसहरुमा ‘चुम्बकीय शक्ति’ पैदा गरेको भन्ने खालका सन्देशहरुलाई खारेज गरिदिएको छ ।
भारतमा यस्ता सन्देशहरु निकै भाइरल हुन थालेपछि सरकारी संस्थाहरुले उक्त सूचनाको ‘फ्याक्ट चेक’ गर्दै सामाजिक सञ्जालमा फैलिरहेका भिडियो तथा फोटाहरु अफवाह भएको र भ्रम पैदा गरिरहेको जनाएका छन् ।
अमेरिकाको ओहायो राज्यको विषयगत समितिमा खोपविरोधी (एन्टिभ्याक्सर्स) एक फिजिसियन डाक्टरले नै खोपले मानिसहरुलाई चुम्बकीय बनाएको दावी गर्दै खोपको प्रभावकारितामाथि प्रश्न उठाएकी थिइन् ।
भारतको केन्द्र सरकारले भनेको छ–‘कोभिड–१९ खोपहरु पूर्णतया सुरक्षित छन् । यी खोपमा धातुसँग सम्बन्धित कुनै पनि तत्वहरु छैनन् ।’ भारत सरकारले खोपमा माइक्रो चिप रहेको भन्ने हल्लालाई पनि खारेज गरेको छ ।
ट्विटर, फेसबुक, टिकटक तथा इन्टाग्रामजस्ता सामाजिक सञ्जालमा भाइरल भएका भिडियोमा मानिसहरुको अनुहार, पाखुरालगायतका अंगमा फलामे वस्तुहरु तथा चुम्बर टाँसिएको देख्न सकिन्छ । ती मानिसहरुले आफूले कोभिड–१९ विरुद्धको खोप लगाएकाले यस्तो भएको भन्ने सन्देश दिइरहेको देखिन्छ ।
केही व्यक्तिहरुले खोपमा चुम्बकीय शक्ति रहेको दावी गरेका छन् भने केहीले त खोपमा माइक्रो चिप नै रहेको पुष्टि भएको समेत दावी गरेका छन् ।
भारतको केन्द्र सरकार अन्तर्गतको तथ्या जाँच्ने अंग प्रेस इन्फरमेसन ब्यूरो(पीआईबी)ले कोभिड खोपले चुम्बकीय क्षमता दिने भन्ने दावीहरु आधारहीन रहेको बताएको छ ।
‘खोपले मानव शरिरमा चुम्बकीय प्रतिक्रिया दिन सक्दैन । कोभिड–१९का खोपहरु पूर्णतया सुरक्षित छन् र यसमा कुनै पनि धातुको तत्व मिसिएको छैन,’ पीआइबीको फ्याक्ट चेक समूहले भनेको छ ।
पीआईबीले खोप लगाएपछि सामान्य टाउको दुख्ने, शरिर दुख्ने र खोप लगाएको स्थानमा सुनिन सक्ने पनि बताएको छ । पीआइबीले खोप नलगाउनु पर्ने कारणहरु केही पनि नरहेको भन्दै सामाजिक सञ्जालमा आएका भ्रमहरुको पछाडी नलाग्न पनि अनुरोध गरेको छ ।
उता विज्ञहरुले शरिरमा धातुका वस्तुहरु टाँसिनुको कारण शरिरमा भएको तेल र त्यसले उत्पन्न गरेको सतही तनाव अर्थात् (सर्फेस टेन्सन)का कारण हुन सक्ने बताएका छन् । तर धेरैले भिडियो भाइरल बनाउनकै लागि मानिसहरुले ‘ट्रिक’ गरेको पनि हुनसक्ने आकलन गरेका छन् ।
यता नेपालको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले कोभिड–१९ विरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेको र यसले मानव स्वास्थ्यमा कुनै प्रतिकूल असर नगर्ने जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको केन्द्रले खोपका विषयमा फैलिएका अनेक अफवाहमा विश्वास नगर्न आग्रह गरेको हो । कोभिड–१९ विरुद्धको खोपमा कुनै प्रकारको धातु वा माइक्रोचिपहरू नहुने केन्द्रले जनाएको छ । “कोभिड–१९ को खोपहरूमा कुनै प्रकारको धातु वा माइक्रोचिपहरू हुँदैन । त्यसैले यस्ता अफवाहको विश्वास नगरौँ । कोमिड–१९ को खोप सुरक्षित र प्रभावकारी छ र यसले हाम्रो स्वास्थ्यमा कुनै प्रतिकूल असर गर्दैन,” केन्द्रद्वारा जारी सन्देशमा भनिएको छ । 
