बुटवल–६ महिनादेखि बन्द विद्यालयमा पठनपाठन सुरु हुन लागेको छ। कोरोना महामारी र लकडाउनका कारण नयाँ शैक्षिक सुरु भएपछि पढाइ प्रभावित भएको थियो।
असोज महिनाबाट लागू हुने गरी विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी भएपछि धेरै विद्यालयहरु खुलेका हुन्।
कोरोना संक्रमणको जोखिम झन झन बढेको छ। विद्यार्थीहरुमा संक्रमण फैलिने हो कि भन्ने चिन्ता पनि छ। विद्यालयहरुहरुले भने स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर दुरी कायम गरेर पठनपाठन गराइरहेको दाबी गरेका छन्।
विद्यालयमै पढाइ भएपनि कक्षा सञ्चालनको ढाँचा पहिलेभन्दा फरक रहेको उनीहरुको दाबी छ।
रुपन्देहीको सैनामैना नगरपालिका रानीबगियामा रहेको सैनामैना माध्यमिक विद्यालयमा दिनमा ३ वटा कक्षालाई पालैपालो बोलाएर पठन पाठन गराउने गरिएको छ।
अनलाईनको पहुँचमा नभएका विद्यार्थीलाई विद्यालयमै बोलाएर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पठन पाठन गराइएको सैनामैना माविका प्रधानाध्यापक नेत्र पुरीले बताए।
‘तालिका बनाएर हरेक दिन तिन वटा कक्षालाई बोलाइएको छ। उनीहरुलाई गेटमै ज्वरो नापेर, साबुन पानीले हात धुन लगाएर कक्षा कोठामा लगिन्छ’–उनले भने– ‘एउटा कक्षाको ३ अथवा ४ वटा समूहमा विभाजन गरिन्छ १५ देखि २० जनालाई मात्र एउटा कोठामा राखेर पढाइन्छ।’
अहिले ६ देखि १० सम्मलाई त्यसरी पढाइएको र अब ३ देखि माथिका सबै कक्षालाई बोलाइने प्रअ पुरीले बताए।
बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म कक्षा सञ्चालन गर्ने गरी तयारी गरिएको उनले बताए। ३ कक्षा भन्दा तलकालाई अभिभावक बोलाएर गृहकार्य मात्र दिइएको छ।
त्यस्तै सैनामैनाकै रामापुर माविमा बिहान र दिउसो गरेर २ सिफ्टमा विद्यार्थीलाई बोलाइएको छ।
एउटा सिफ्टमा ३ घण्टा मात्र पढाइ हुने गरेको रामापुर माविका प्रधानाध्यापक कृष्णप्रसाद पौडेलले बताए। ‘बिहानको सिफ्टमा कक्षा ९ र १० लाई एक–एक दिन पालो गरेर बोलाएका छौं’–उनले भने–‘दिउसोको सिफ्टमा दिनमा २ देखि ५ कक्षासम्म र ६ देखि ८ कक्षा सम्मलाई दिनमा एउटा कक्षाको दरले पालैपालो बोलाएका छौ।’
विद्यालयमा ३ घण्टा राखेर ४ पिरियड पढाउने गरेको प्रअ पौडेलको भनाइ छ। नर्सरीदेखि कक्षा १ कक्षा सम्मको लागि अभिभावकसहित बोलाएर होमवर्क दिएर पठाएको उनले बताए।
कक्षा सुरु नगरिसकेका कतिपय विद्यालयले छिट्टै विद्यालय बोलाएर कक्षा सुरु गर्ने तयारी गरेका छन्।
अहिलेसम्म अनलाईन कक्षाका माध्यमबाट पढाइएको र त्यसमा सबैको पहुँच नदेखिएपछि कक्षा नै सञ्चालन गर्ने तयारी गरिएको शान्ति नमूना माविका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले बताए।
‘अनलाईनमा २५ प्रतिशत विद्यार्थीको पनि पहुँच थिएन, अरुले कक्षा सुरु गरे हामीले पनि विस्तारै सुरु गर्दै छौं’–उनले भने–‘अब पालै पालो विद्यार्थीलाई बोलाएर सामाजिक दुरी कायम गरेर पढाउँछौं।’
स्थानीय तहका शिक्षा प्रमुखहरुले भने विद्यालय सञ्चालन गर्न पालिकाले अनमति नदिएको तर केही विद्यालयले निर्देशिकामै टेकेर विद्यार्थी बोलाएको बताए।
‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको एउटा बुँदामा विद्यालयमै बोलाएर पनि सहजीकरण गर्न सकिने भन्ने व्यवस्था छ’–तिलोत्तमाका नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले भने–‘त्यसकै आधारमा केही विद्यालयले विद्यार्थी बोलाएर थोरै पढाउन थाल्नुभएको छ, केही विद्यालयले बोलाउने तयारी गर्नुभएको छ।’
त्यसरी विद्यार्थी बोलाउँदा स्वास्थ्य सुरक्षाको अनिवार्य मापदण्ड पालना गर्नुपर्ने उनले बताए।
रुपन्देहीको कञ्चन गाउँपालिकामा पनि विद्यालयहरुले थोरै संख्यामा विद्यार्थी बोलाएर पढाउने गरेका छन्।
‘हामीले विद्यालय सञ्चालन गर्न भनेका छैनौं, निर्देशिका अनुसार कतिपय विद्यालयले सिकाइ केन्द्रको रुपमा थोरैथोरै विद्यार्थी बोलाएर पढाउनुभएको छ’–गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश भुसालले भने।
शिक्षा मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा रेडियो, टिभी, कम्प्युटर, इन्टरनेट माध्यमका साथै समुदाय वा विद्यालयमा दुरी कायम गरी पढाउन सकिने उल्लेख छ।
रेडियो र टिभिको माध्यमतिर विद्यार्थीको ध्यान नजाने र अनलाइनमा सबैको पहुँच नपुग्ने शिक्षकहरुको भनाइ छ।
धेरै सामुदायिक विद्यालयहरुले विद्यालयमै कक्षा सुरु गर्न थालेपछि निजी विद्यालयहरुले पनि त्यसको अभ्यास गर्ने तयारी गरेका छन्।