बुटवल । विद्यार्थीको आन्दोलनले लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पसको पढाई प्रभावित भएको छ । हिजो बुटवलको सडकमा आन्दोलन गरेका विद्यार्थीले आज नयाँगाउ स्थित क्याप्पसको गेटमा ताला लगाएका छन् ।
क्याम्पसको कानूनतर्फ तेस्रो सेमेष्टरमा अध्ययनरत केही विद्यार्थीले विभिन्न माग राख्दै लामो समयदेखि आन्दोलन गरेपछि शिक्षण प्रक्रिया नै प्रभावित भएको हो । विश्वविद्यालयले भने एक विज्ञप्ती नै जारी गरी विद्यार्थीले उठाएका मागहरुमध्ये अधिकांश कार्यान्वयनको चरणमा रहेको जनाउँदै नीतिगत मागहरु समाधन गर्ने प्रतिवद्धता जनाएको छ तर, विद्यार्थी भने आन्दोलन गरिरहेका छन् । आफ्ना माग पूरा नभएकै कारण आन्दोलन गर्नुपरेको विद्यार्थी सिद्धार्थ कडेँलले बताउनुभयो ।
विद्यार्थीका मागहरु मध्ये केही विश्वविद्यालय केन्द्रीय कार्यालय, केही क्याम्पस प्रशासन तथा केही सम्बन्धित विषय शिक्षकहरु तहबाट समाधान हुने कुरासँग सम्बन्धीत रहेकाले क्रमशः पूरा गर्दै लगिने निमित्त क्याम्पस प्रमुख मोहनलाल भण्डारीले बताउनुभयो । “हामीले विद्यार्थीका माग पूरा गर्छौ भनिसकेका छौँ तर, केही विद्याथीले आन्दोलन गर्दा अरुको पढाई प्रभावित भयो”, उहाँ भन्नुहुन्छ ।
उहाँले आन्दोलनका कार्यक्रमहरु स्थगित गरी पठनपाठनमा केन्द्रीत हुन विद्यार्थीहरुलाई आग्रह समेत गर्नुभएको छ ।
विद्यार्थीका मागका सम्बन्धमा मानविकी तथा सामाजिक शास्त्र संकायको डीन कार्यालयलाई बुटवलमा सार्ने प्रक्रिया अघि बढिसकेको विश्वविद्यालयले जनाएको छ । कानून विषयका शिक्षक पदपूर्तिका लागि छनौट चरण चलिरहेको विश्वविद्यालयले जनाएको छ । क्याम्पसमा सञ्चालनरत कार्यक्रमहरुका लागि सम्बन्धित विषय विज्ञहरुमध्येबाट संयोजक नियुक्ति प्रक्रियालाई यथाशक्य चाँडो अघि बढाइने प्रतिवद्धता विज्ञप्तीमार्फत जनाइएको छ ।
विद्यार्थीहरुले उठाएका मागहरु सिसिटिभी जडान, इन्टरनेट क्षमता अभिवृद्धि, पुस्तकालय व्यवस्थापन, नियमित कक्षा, प्रयोगात्मक अभ्यास लगायतका विषयहरु निरन्तर सम्बोधन गरिने विज्ञप्तीमा उल्लेख छ । चमेना गृह सञ्चालनका लागि प्रस्ताव आह्वान गरी सञ्चालनकर्ता समेत छनौट गरिसकिएको जनाइएको छ ।
विद्यार्थीको हाजिरी विद्युतीय मेसिनबाट गर्ने, शैक्षिक क्यालेण्डर कार्यान्वयन, विद्यार्थी क्लव गठन, महिला विद्यार्थीलाई स्यानेटरी प्याड व्यवस्थापन तथा आराम कक्ष समेत क्याम्पसले व्यवस्थापन गरिसकेको जनाएको छ ।
कानून विषयका लागि अभ्यास अदालत निर्माणको प्रक्रिया थालनी गरिएको जनाइएको छ । क्याम्पसको शैक्षिक वातावरणलाई उत्कृष्ठ बनाउदै सिकाई अभिवृद्धिका लागि विज्ञ व्यक्तिमार्फत हुने पठनपाठनलाई नियमितता प्रदान गरिने क्याम्पस प्रशासनले जनाएको छ ।