भैरहवा । विद्यार्थीहरू विद्यालयमा सिक्नका लागि जान्छन् । नजानेका वा अलमल भएका विषयमा उनीहरू केहीले घरका अभिभावकसँग र धेरैजसो विद्यालयका शिक्षकसँग सोध्छन् । किताबका कुरामात्रै होइन, गाउँसमाजका घटनादेखि राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशका कुरापनि उनीहरूले शिक्षकसँग सोधिरहेका हुन्छन् ।
विद्यार्थीका हरेक जिज्ञासा मेटाउन शिक्षकलाई वेलावेलामा समस्या परेको हुन्छ । हामीकहाँ शिक्षकका लागि निरन्तर सिकाइको राम्रो वातावरण र प्रभावकारी संयन्त्रको अभाव छ । यही समस्यालाई महशुस गरेर सिद्धार्थनगर नगरपालिकाले निरन्तर सिकाइ चौतारी नामको नौलो कार्यक्रम सञ्चालन गरेको छ । सरकारले सञ्चालनमा ल्याएको डिजिटल सिकाइ थलो सिकाइ चौतारीलाई मौलिकरुपमा सञ्चालन गर्दै नगरपालिकाले निरन्तर सिकाइ चौतारी कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
पहिलेपहिले गाउँघर र देश विदेशका घटनाबारे अनौपचारिक छलफल गर्ने हाम्रो परम्परागत थलो टोलवस्तीमा रहेका चौपारीहरू थिए । आजभोलि त्यस्ता चौपारीहरू मासिंदै गएका छन् । जताततै कङ्क्रिट नै कङ्क्रिट भेटिन्छ । मानिसहरू घरभित्रै र सामाजिक सञ्जालमा वढी व्यस्त हुन थालेकाछन् ।
विद्यालयका शिक्षक र विद्यार्थीहरू पनि आफ्नै काममा व्यस्त हुन्छन् । चियाचौतारामा बस्न पनि उनीहरूलाई फुर्सद हुँदैन । यही व्यस्तताको बीचमा कसरी शिक्षाको गुणस्तरमा सुधार गर्न सकिन्छ ? भन्ने चिन्तन गर्दागर्दै नगरपालिकाले निरन्तर सिकाइ चौतारी शुरु गरेको हो । सिद्धार्थनगर नगरपालिकाले नगरपालिका भित्रको शैक्षिक गुणस्तर वृद्घिकालागि निरन्तर सिकाइ चौतारीलाई सिर्जनात्मक रुपमा प्रयोगमा ल्याएको छ ।
नगरपालिकाको मातहतमा रहने १ देखि १२ कक्षा सम्मको शिक्षामा सुधार ल्याउने उद्देश्यले नगरपालिकाले थालेको यो अभियानमा अहिले कक्षा १—३ को विषयमा छलफल शुरु भएको छ । नगरपालिकाले यो कार्यक्रमकालागि आर्थिक वर्ष २०७९÷८० को बजेटमै ५ लाख रुपैयाँ छुट्याएर काम थालेको सिद्धार्थनगर नगरपालिकाका उपप्रमूख उमा अधिकारीले बताउनुहुन्छ । “सरकारले शिक्षाको लागि गरिरहेका काम त छँदैछन्, तर नगरपालिकाले के गर्दा शिक्षाको गुणस्तर वढ्छ भन्ने विषयमा जानकारहरूसँग छलफल गर्दै जाँदा सिकाइ चौतारीको अवधारणा आयो, अनि हामीले बजेट नै व्यवस्था गरेर काम थालेका हौंं”, अधिकारीले भन्नुभयो ।
नगरपालिकाले सिकाइ चौतारीको दुईओटा श्रृङ्खला सञ्चालन गरिसकेको छ । स्थानीय विद्यालयहरूसँग नै समन्वय गरेर विद्यालयकै हलमा विदाको दिन वा शनिबार पारेर कार्यक्रम गरिन्छ । नगरभित्रका १—३ कक्षामा अध्यापनरत शिक्षकहरूको १ दिन र प्रधानाध्यापकहरूको १ दिन गरेर सिकाइ चौतारीका २ वटा छलफल सम्पन्न भएका छन् । विद्यार्थीको पढाइमा असर नपुग्नेगरी शनिबार आयोजना गरिने चौतारीको छलफलमा पाठ्यपुस्तकहरू परिवर्तन भइरहेको सन्दर्भमा त्यसमा आएका जटिलता र समस्याको विषयमा छलफल हुन्छ । समस्याको पहिचानको लागि छलफल र अनुसन्धान गरिन्छ । निकासको लागि नगरपालिकाले विज्ञको छनौट गरेर सिकाइ चौतारीमा सहभागी गराउँछ । सहभागीहरू समूहमा बाँडिएर तहगत र पाठगतरुपमा देखिएका समस्या पहिचानमा लाग्नु हुन्छ ।
एउटा विद्यालय वा एउटा समूहमा देखिएका समस्यालाई अर्को समूहले कसरी समाधान गर्दोरहेछ भन्ने प्रस्तुति पनि हुन्छ । कतिपय समस्यालाई त्यसरी नै समाधान गरिन्छ । समाधान हुन नसकेका समस्याको विषयमा विज्ञले सहजीकरण गर्नुहुन्छ । सिकाइलाई व्यवहारिक, उपयोगी र गुणस्तरीय बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम गरिएको नगरपालिका शिक्षा शाखाका प्राविधिक सहायक कृष्णप्रसाद पोख्रेलले बताउनुहुन्छ । नगरपालिका भित्रका विद्यालयका शिक्षकहरूबाट पाठ्यक्रम, पाठ्यपुस्तक तथा परीक्षा प्रणालीसँग सम्बन्धित् विषयमा विभिन्न जिज्ञासा आइरहेपछि त्यसको समाधानको लागि शिक्षा शाखाले यो कार्यक्रम ल्याएको हो ।
सिकाइ चौतारीको पहिलो चरणमा नेपाल सरकारले लागुगरेको नयाँ पाठ्यक्रमको विषयमा विज्ञको सहभागितामा छलफलभयो । चौतारीमा सहभागि लिलाराम न्यौपाने मा.वि.का प्रधानाध्यापक रुपकुमार क्षेत्री नगरपालिकाले सञ्चालन गरेको यो कार्यक्रमले विद्यालयमा सिकाइ उपलब्धि वढाउन सहयोग पुग्ने बताउनुहुन्छ । नयाँ पाठ्यक्रमले विद्यार्थी मुल्याङ्कनको तरिका फरकरुपमा लगेको छ । त्यसको विषयमा रहेका अन्यौल हटाउन सिकाइ चौतारीको छलफलले सघाएको उहाँको भनाइ छ । कार्यक्रममा सहभागी अंग्रेजी शिक्षक भिष्मनाथ शर्माले कार्यक्रम निकै फलदायी रहेको बताउँदै आगामी दिनमा विषय शिक्षणकाव्रmममा देखिएका समस्याका बारेमा चौतारीमा नियमित छलफल भए सिकाइको गुणस्तर वढ्ने बताउनुभयो ।
सिकाइ चौतारी कार्यक्रमले संस्थागत विद्यालयलाई पनि समेटेको छ । यसले नेपाल सरकारले लागुगरेको पठ्यक्रम तथा नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रमको विषयमा नगरभित्रका विद्यालयमा एकरुपता ल्याउन सहयोग पुग्नेछ । सिकाइ चौतारीमा सहभागी सिद्घार्थ एकेडेमीका अमित यादव सिकाइ चौतारी निकै फलदायी रहेको बताउनु हुन्छ । आफु त्यस कार्यक्रममा सहभागी भएपछि सोही कार्यक्रममा सहभागी विज्ञ अंग्रेजी शिक्षक युवराज पंथीलाई बोलाएर आफुहरूले विद्यालयमा पनि यस्तो कार्यक्रम गरेको बताउनुभयो । आगामी दिनमा सबै तहका र विविध विषयका बारेमा सिकाइ चौतारीमा छलफल भएमा शिक्षाको गुणस्तर वढाउन सहयोग पुग्ने भन्दै कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने सुझाव दिनुभयो ।
नगरपालिकाले नगरभित्रको शिक्षाको अवस्था परिवर्तन र सुधारको लागि “नगरस्तरीय घरघरमा शिक्षा नागरिक शिखर सम्मेलन” पनि सञ्चालन गरेको थियो । बैशाख अन्तिम साता भएको सम्मेलनमा नगरपालिकाका १३ वटै वडाका वडाध्यक्ष तथा प्रतिनिधि, सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक प्रतिनिधि, प्राध्यापक, साहित्यकार, भाषाविद्, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
शिक्षामा प्रविधिको पहुँच वढाउन, अभिभावकमा समेत सिकाइ प्रभाव वढाउन तथा समग्रमा स्थानीय विद्यालयहरूमा पठनपाठनको अवस्था सुधार गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले लुम्बिनी प्रदेशका पालिकाहरूमा अभियान सञ्चालन गर्न लागिएकाले त्यसको प्रारम्भमा सिद्घार्थनगर नगरपालिमा शिखर सम्मेलन गरिएको घरघरमा शिक्षा नागरिक सम्मेलनका अगुवा होमराज आचार्यले बताउनुभयो ।
अभियानकाक्रममा पाठ्यक्रम प्रबोधीकरण तथा विद्यालयतहमा देखिएका जटिलताहरूको समाधान गरी सिर्जनात्मकरुपमा अगाडि वढ्ने उपायहरू खोजिन्छ । सिद्घार्थनगर नगरपालिकामा १७ ओटा सामुदायिक, ४२ ओटा नीजि, १३ ओटा मदरसा, १ ओटा संस्कृत विद्यालय तथा १ ओटा सामुदायिक सिकाइ केन्द्रहरू रहेको छ । औपचारिक शिक्षा दिइने सबै शैक्षिक संस्थाबाट प्रदान गरिने शिक्षामा एकरुपता ल्याउन, पाठ्यक्रम र पाठ्यपुस्तकमा देखिएका समस्याहरूको पहिचान गरी समाधानको उपाए खोज्ने विषयमा शिखर सम्मेन आयोजना गरिएको थियो ।
निरन्तर सिकाइ चौतारीलाई निरन्तरता दिन तथा शिखर सम्मेलनका निष्कर्षलाई मनन गरेर घरघरमा सिकाइ अभियानलाई अझै प्रभावकारी बनाउन सके नगरपालिकाको शैक्षिक गुणस्तर वृद्घिमा ठूलो सहयोग पुग्ने देखिन्छ ।