बुटवल । शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाले सेमेस्टर प्रणाली नेपाली विद्यार्थीलाई प्रभावकारी नभएको बताउनुभएको छ ।
देशका ठूला राजनीतिक दलको स्वार्थ मात्रै पूरा गर्ने सेमेस्टर प्रणाली शुरु गरिएको स्पष्ट पार्दै उहाँले यो विद्यार्थीके हितमा नदेखिएको उल्लेख गर्नुभयो ।
उहाँले शिक्षामा बजेट पर्याप्त नभएका कारण सामुदायिक विद्यालयको पहुँच घट्दै गएको धारणा राख्नुभयो । उच्च शिक्षालाई हेर्ने एउटा छुट्टै मेकानिजम स्थापना भएमा शिक्षा क्षेत्र सुधार हुँदै जाने उहाँको सुझाव छ ।
रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयले आज बुटवलमा आयोजना गरेको “अबको शिक्षा प्रणाली कस्तो हुनुपर्छ“ भन्ने बिषयक साक्षात्कार कार्यक्रममा बोल्दै बरिष्ठ अधिवक्ता तथा नेपाल प्राध्यापक संघका पूर्वअध्यक्ष डा.बुद्धबहादुर थापाले नेपालमा भोलीका दिनमा न पाठ्यक्रम, न पाठ्यपुस्तक, न शिक्षक हुने दिन आउने भन्द्यै चिन्ता व्यक्त गर्नुभयो । उहाँले हिजो शिक्षक केन्द्रीत शिक्षा रहेको र आज त्यस्तो नभएकाले शिक्षकहरु भुत्ते हुँदै गएको टिप्पणी गर्नुभयो । पछिल्लो समय शिक्षकहरुसँग प्रविधिमैंत्री ज्ञान नभएको र अहिलेको माग भने प्रविधियुक्त रहेको उहाँको भनाइ छ ।
बुटवल उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख मित्रमणि खनालले नयाँ नीति नबनेसम्म शिक्षा क्षेत्रको विकास सोचे अनुसार नहुने स्पष्ट पार्नुभयो । बुटवलले शिक्षा क्षेत्रमा रु १० करोड बजेट छुट्याइएको जानकारी गराउँदै उहाँले १जनशक्ति अभाव नभएको बताउनुभयो ।
शिक्षा पत्रकार समूहका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले शिक्षाको गुणस्तर ह्रास हुँदै गएको बताउनुभयो । पालिकाले विद्यालयलाई खुम्च्यााउन खोजेकाले विद्यार्थीलाई पुनः पहिले जस्तै घण्टौं पैदल हिँडेर स्कुल जाने दिन आउन सक्ने वताउँदै ग्रामीण स्तरबाट विद्यालयहरु खोसिदै जाने खतरा बढेको आशंका गर्नुभयो ।
निजि विद्यालयको छाता संगठन प्याब्सनका केन्द्रीय सदस्य तथा दीप वोर्डिङ स्कुल बुटवलका प्रिन्सिपल टिकाराम न्यौपानेले हालको शिक्षा नीति अव्यवहारिक भएको टिप्पणी गनुभयो ।
कालिका मानवज्ञान विद्यालय बुटवलका प्रधानाध्यापक दिनेश थापाले भर्ना अभियानका क्रममा कमजोर वर्गका विद्यार्थीहरुलाई समावेश नगरेको भन्ने कुरा गलत भएको वताउनुभयो ।