काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका लागि मतदान सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा बिहान ८ बजेदेखि मतदान सुरु हुने तय भए पनि केही समय ढिला मतदान सुरु भएको हो । केही कलेजहरूमा भने अझै पनि मतदान सुरु हुन सकेको छैन ।
निर्वाचनलाई लक्षित गरी क्याम्पसहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
स्ववियु अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् ।
त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैछ । कतिपय क्याम्पसमा भने निर्विरोध नेतृत्व चयन भएको छ ।
स्ववियु निर्वाचन २०६५ सालदेखि यता नियमित हुन सकेको छैन । विसं २०५४ मा भएको स्थानीय तहको निर्वाचन एकै पटक गणतन्त्र आइसकेपछि २०७४ सालमा भएको थियो ।