बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलमा प्रध्यापन गरेका एक शिक्षकले चेकजाँच गर्न लगेको परीक्षाको उत्तरपुस्तिका फिर्ता नगरेपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।
दाङ घर भई केही समय सिटी क्याम्पस बुटवलमा कानून विषय पढाएका दीपक खनालले विद्यार्थीको आन्तरिक परीक्षाको उत्तरपुस्तिका चेकजाँचका लागि लैजानुभएको थियो । कापी लिएको लामो समयसम्म पनि खनालले फिर्ता नगरेको क्याम्पस प्रशासनले जनाएको छ ।
गत असोजको पहिलो साता उत्तरपुस्तिका लिएका खनालले पटक पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि फिर्ता नगरेपछि प्रशासनमा उजुरी गर्नुपरेको क्याम्पस प्रशासनले जनाएको छ ।
शिक्षक दीपक खनाललाई क्याम्पसले असोजको ९ गते काज फिर्ता गरेको थियो । दाङको मेट्रो कलेजबाट केही समयका लागि केही विषय पढाउन काजमा आएका खनाललाई क्याम्पसमा नयाँ शिक्षक भर्ना भएपछि फिर्ता गरेको थियो । काज फिर्ता भएपछि आफै उत्तरपुस्तिका बुझाउनुपर्नेमा ताकेता गर्दा पनि नबुझाएपछि प्रशासनमा उजरी गरिएको क्याम्पस प्रमुख फणीन्द्र कुमार न्यौपानेले जानकारी दिनुभयो ।
“उरपुस्तिका जस्तो संवेदनशील विषय लामो समय शिक्षकले लिएर राख्नु उपयुक्त हुदैन, हामीले लिखित र मौखिक रुपमा पनि उहाँसंग कापी मागेका थियौं, क्याम्पस प्रमुख न्यौपानेले भन्नुभयो, “हाम्रो अनुरोधलाई वेवास्था गरेपछि बाध्य भएर प्रशासनमा उजुरी दिएका छौं ।”
काज फिर्ता भएपछि उत्तरपुस्तिका परीक्षण भए वा नभएको जे जस्तो अवस्थामा छ, त्यही अवस्थामा फर्काउनुपर्ने कर्तव्य शिक्षकको हुने उहाँको भनाइ छ । तर खनालले आफै फिर्ता दिनुको साटो ताकेता गर्दा पनि फिर्ता नगरेको प्रमुख न्यौपानेले बताउनुभयो ।
शिक्षकले उत्तरपुस्तिका नबुझाउदा कैयौं विद्यार्थीको नतिजा प्रकाशन रोकिएको क्याम्पसले जनाएको छ । क्याम्पसकी प्रकाशकीय अधिकृत कमला संजेलले उत्तरपुस्तिका परीक्षणका लागि दिएको तर पटक पटक आग्रह गर्दा पनि कापी फिर्ता गर्न नमानेको बताइन् ।
शिक्षक खनालले उत्तरपुस्तिका विद्यार्थीहरुको केही समूहलाई देखाउने गरेको समेत बताइएको छ ।
शिक्षक खनालले पनि उत्तरपुस्तिका फिर्ताका लागि इमेलमा पत्र आएको स्वीकार गर्नुभयो । “इमेलमा उत्तरपुस्तिका फिर्ताको पत्र आएको थियो, मैले अझै चेकजाँच सकेको छैन, पेशी सकेपछि फिर्ता गर्नेछु, इमले रिप्लाई गरेको छु”, खनालले भन्नुभयो । उहाँले आफूले क्याम्पस विरुद्ध अदालतमा उजुरी दिएको भन्दै त्यसको मुद्धा चलिरहेको समेत बताउनुभयो ।
क्याम्पस प्रशासनका अनुसार शिक्षक खनालले विश्वविद्यालयले केही समय अघि गरेको शिक्षक पदपूर्तिको परीक्षामा सहायक प्रध्यापकमा आवेदन दिनुभएको थियो । खनाल एलएलएम उत्तिर्ण भएको सक्कल ट्रान्सकिप (प्रमाणपत्र) देखाउन नसकेपछि अन्तर्वार्ता परीक्षा छाडेर बाहिरिनुभएको विश्वविद्यालयले जनाएको छ ।
सिटी क्याम्पसबाट काजफिर्ता भएपछि शिक्षक खनाल तुलसीपुर मेट्रो कलेजमा नपुगेको बताइएको छ । असोजमा काजफिर्ता भए पनि खनाल पुस महिना लाग्दासम्म पनि कलेजमा पुग्नुभएको छैन ।
उत्तरपुस्तिका लिएर हिडेका खनाल तुलसीपुर मेट्रो कलेज पुगेको पनि नदेखिएपछि सिटी क्याम्पसले उत्तरपुस्तिका फिर्ताका लागि प्रशासनमा उजुरी दिएको हो । “सिडियो सरले आवश्यक कारबाही थाल्छौं भन्नुभएको छ, जहाँसम्म उत्तरपुस्तिका फिर्ता हुन्छ”, क्याम्पस प्रमुख न्यौपानेले भन्नुभयोे ।