भैरहवा । पशुपति कलेजको १७ औं वार्षिकोत्सव तथा अभिभावक भेला हुने भएको छ । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं.१६ बोहियामा रहेको कलेजले मंसिर १६ गते क्याम्पस प्राङ्गणमा कार्यक्रम गर्न लागेको हो ।
रुपन्देहीको दुई व्यस्त बजार भैरहवा र बुटवलको बीचमा रहेको पशुपति कलेजलाई थप नयाँ शैक्षिक योजनाका साथ अगाडि बढाउन वार्षिकोत्सवसँगै अभिभावक भेला कार्यक्रम गरिएको क्याम्पस प्रमुख कृष्ण प्रसाद शर्माले बताउनुभयो ।
पशुपति कलेजमा शिक्षा क्षेत्रमा धेरै सम्भावना रहेकोले नयाँ ढङ्गबाट अगाडि बढ्न अभिभावकको महत्वपूर्ण सुझाव हुने भएकोले क्याम्पसले गर्दै आएका गतिविधी र प्रगति विवरण कार्यक्रम मार्फत जानकारी गराउने उद्देश्य रहेको सहायक क्याम्पस प्रमुख जितबहादुर राजकोटीले बताउनुभयो ।
कलेजले स्थापना काल देखि नै समय समयमा भेला, गोष्ठि र सेमिनार गर्दै कलेजलाई प्रतिस्पर्धात्मक ढङ्गले अगाडि बढाउनका लागि यस वर्ष पनि निरन्तरता दिँदै विविध कार्यक्रम सहित वार्षिकोत्सव कार्यक्रम गर्न लागेको शिक्षा संकाय प्रमुख नारायण प्रसाद ज्ञवालीको भनाइ छ ।
व्यवस्थापन संकाय प्रमुख खेमानन्द चापागाईंले कलेजमा अध्ययनरत विद्यार्थीको मनोभावनालाई उच्च राख्न भूपू विद्यार्थीको उर्जा महत्वपूर्ण हुने भएकोले सप्ताहव्यापि कार्यक्रममा भूपू विद्यार्थी भेला गर्न लागिएको जानकारी गराउनुभयो ।
वार्षिकोत्सवको अवसरमा क्याम्पसमा अध्ययनरत विद्याथीहरु बिच मंसिर ९ गते टपरी खुट्ने तथा बत्ति कात्ने प्रतियोगिता, १० गते भूपू विद्यार्थी भेला तथा रक्तदान र छात्रवृति वितरण, ११ गते कविता वाचन प्रतियोगिता, स्लो साइकल दौड प्रतियोगिता, १२ गते हाजिरी जवाफ प्रतियोगिता, १३ गते वक्तृत्वकला र भलिबल प्रतियोगिता, १४ गते कुर्ची दौड, १५ गते निबन्ध प्रतियोगिता र सटफुट प्रतियोगिता कार्यक्रम आयोजना गरिएको प्रचार प्रसार उपसमिति संयोजक तथा सहायक प्राध्यापक पुनहरि बेल्बासेले जानकारी दिनुभयो ।