रुपन्देही । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा डिजिटल लाइब्रेरी तथा ह्युमन रिसोर्स डेभलपमेण्ट ल्यावको शुभारम्भ भएको छ ।
शनिवार एक कार्यक्रमका विच त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. पेशल दाहालले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै रजिष्टार दाहालले सबै क्याम्पस समय सापेक्ष परिवर्तन हुदै प्रविधिमैत्री बन्नुपर्ने बताउनुभयो ।
उहाँले लुम्बिनी वाणिज्य क्याम्पस व्यवस्थापन विषयको क्षेत्रमा उत्कृष्ट भएको कुरामा दुई मत नभएको र मानित विश्वविद्यालय भएपछि यसको उचाइ अझै फराकिलो हुने विश्वास व्यक्त गर्नुभयो । मानित विश्वविद्यालय बनाउने कुरामा छिटो पहल गर्न उहाँले सुझाव दिनुभयो ।
कार्यक्रममा परिषद् पदेन सदस्य समेत रहनुभएका जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चँपाईले वाणिज्य क्याम्पस रुपन्देहीको मात्र नभई सिंङ्गो राष्ट्रकै गौरवको रुपमा बताउनुभयो ।
सञ्चालक समितिका पदेन सदस्य तथा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले लुम्बिनी वाणिज्य क्याम्पस विभिन्न निकाय, सामाजिक संघसंस्थाहरुको पहलमा स्थापना भएकोले सबैसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले लुम्बिनी वाणिज्य क्याम्पसले देखेको सपना छिटै साकार बनाउन अझै सक्रिय हुनुपर्ने बेला आएको बताउँदै क्याम्पस समय सापेक्ष परिवर्तन हुँदै अगाडी बढेकामा खुशी व्यक्त गर्नुभयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोतिलाल पाण्डेले अध्यक्षको वार्षिक प्रतिवदेन तथा भावी योजनाहरु प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा उपाध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठ, निर्वतमान अध्यक्ष राजेन्द्र प्रसाद वझा, पुर्व अध्यक्ष अर्जुनमान सैंजु, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू लगायतले बोल्दै वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालय बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
डिजिटल लाइब्रेरी मार्फत ई–बुक्स, थेसिस, अनुसन्धानमुलक लेख, जर्नल, अडियो–भिडियो सामाग्री तथा लेखहरु पनि घरमै बसेर पढ्न सकिने व्यवस्था गरिएको क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले जानकारी गराउनुभयो ।
यसैगरी वाणिज्य क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को बाह्रौ सभा शनिबार सम्पन्न भएको छ । उक्त सभाले परिषद् अध्यक्ष मोतिलाल पाण्डेले प्रस्तुत गर्नुभएको अध्यक्षको वार्षिक प्रतिवदेन, परिषद् सदस्य एवं आन्तरिक लेखा परिक्षण समितिका संयोजक प्राध्यापक कृष्ण गौतमले प्रस्तुत गर्नुभएको ०७७÷०७८ को लेखा परीक्षण प्रतिवेदन, क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले पेश गर्नुभएको आ.व ०७९÷०८० को लागि अनुमानित बजेट समेत अनुमोदन गरेको छ भने आन्तरिक पदपूर्ति तथा लेखा परीक्षक नियुक्ति सम्बन्धी निर्णय समेत गरेको छ ।