तनहुँ: बन्दीपुर गाउँपालिकाले छात्रावृत्तिमा इञ्जिनियर पढाउने भएको छ । चालु आर्थिक बर्षदेखि बन्दीपुरले दुई विद्यार्थीलाई छात्रावृत्तिमा इञ्जिनियरिङ पढाउन लागेको हो ।
छात्र छात्रा एक एक जनालाई छनोट गरी पूर्ण छात्रवृत्तिमा पढाउन लागेएको गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए । उनका अनुसार यसबर्ष सुरु हुने कार्यक्रम २० बर्षसम्म सञ्चालन गर्ने योजना छ । ‘हामीले कम्तीमा ४० जना इञ्जिनियर उत्पादन गर्ने लक्ष्य राखेका छौँ,’ अध्यक्ष थापाले भने ।
इञ्जिनियरिङ पढाउन छात्रवृत्ति दिन गाउँपालिकाले प्राथमिकता समेत निर्धारण गरेको छ । ‘सहिद, बेपत्ता र घाइते परिवार प्राथमिकतामा पर्ने छन् । उत्पिडित, दलित र गरिब विद्यार्थीलाई पनि यो कार्यक्रममा समेटेर इञ्जिनियर बनाउँछौँ,’ उनले भने ।
गाउँपालिकाले सूचना प्रकाशित गरेर छात्रवृत्तिमा इञ्जिनियरिङ पढ्ने विद्यार्थी छनोट गर्ने जनाएको छ । डाक्टर, पाइलट पढाउन तुलनात्मक रुपमा शुल्क मंहगो पर्ने र गाउँपालिकाको आयस्रोत कम भएको कारण इञ्जिनियरिङ विषय रोजेको अध्यक्ष थापाको भनाइ छ । गाउँपालिकाकाे छात्रावृत्तिमा पढेका इञ्जिनियरलाई रोजगारी समेत गाउँपालिकाले नै दिनेछ । अध्ययन सकेर दुई बर्ष गाउँपालिकामा अनिवार्य सेवा गर्नु पर्नेछ ।
'गाउँपालिकासँग सम्बन्धित प्रोजेक्टमा भए पनि रोजगारी दिनेछौँ’, गाउँपालिका उपाध्यक्ष करुणा गुरुङले बताइन् । विकास निर्माणमा इञ्जिनियरको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । चालु आर्थिक बर्षको बजेटमा दुई विद्यार्थीलाई इञ्जिनियरिङ पढाउन गाउँपालिकाले आठ लाख रुपैयाँ व्यवस्थापन गरेको छ ।