दमाैली: तनहुँका दुई स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालनका लागि विद्यालय खुलाउने तयारी गरिएको छ ।
ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाले आइतबारदेखि प्रत्यक्ष उपस्थितिमा विद्यालय खुलाउने तयारी गरेका हुन् । त्यसका लागि दुवै स्थानीय तहले विद्यालयलाई परिपत्र गरेका छन् ।
ऋषिङ गाउँपालिकाको शुक्रबार सम्पन्न कार्यपालिकाको बैठकले सुरक्षा मापदण्ड अपनाई विद्यालय खोल्ने निर्णय गरेको अधिकृत चिनबहादुर रानाभाटले जानकारी दिए ।
उनका अनुसार सबै सामुदायिक विद्यालयमा स्वास्थ्य सामग्री व्यवस्थापन भइसकेकाले मास्क, साबुन, स्यानिटाइजरजस्ता स्वास्थ्य सामग्रीको अनिवार्य प्रयोग गर्न भनिएको छ ।
एक बेन्चमा बढीमा दुई विद्यार्थी राखेर कक्षा सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिइएको छ । एउटा कक्षामा २५ भन्दा बढी विद्यार्थी भएमा आवश्यकता अनुसार सेक्सन विभाजन गरी विभिन्न सिफ्टमा सिकाइ सहजीकरण गर्न समेत निर्देशन दिइएको छ ।
यसैगरी व्यास नगरपालिकाले पनि आइतबारदेखि नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्न परिपत्र गरेको छ ।
नगर शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मीले शुक्रबार सबै विद्यालयलाई परिपत्र गर्दै कार्यपालिकाको यही भदौ ८ गतेको निर्णयअनुसार पठनपाठनको निरन्तरता दिन विद्यालय सञ्चालन गर्न निर्देशन जारी गरेका हुन ।रासस