बुटवल–आफूसँगै काम गर्नेसहित ५ जना सहकर्मीको सामूहिक हत्या गरेको आरोप लागेका सुर्खेतका झसेन्द्र सिंजालीलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ।
रूपन्देहीको तिलोत्तमा कान्छीबजारस्थित गंगादेवी पशु फर्ममा गत जेठ २६ गते सिंजालीले ५ जनाको बिभत्स हत्या गरेका थिए। जिल्ला अदालत रुपन्देहीका न्यायाधीश मात्रिका प्रसाद मरासिनीको एकल इजलासले अभियुक्त सिंजालीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
प्रहरीले हत्याकाण्डमा संलग्न भएको आशंकामा सोही फर्ममा काम गर्ने सुर्खेतका सिंजालीलाई घटनास्थलबाटै अर्धचेत भएको अवस्थामा पक्राउ गरेको थियो । पक्राउपछि सिंजालीले आफूले नै पाँचै जनाको हत्या गरेको स्वीकार गरेका थिए । सिंजाली ६ महिना यता रुपन्देहीमा बस्दै आएका थिए।
प्रहरीसँगको बयानमा सिंजालीले आफ्नो चरित्र हत्या गर्ने गरेको आवेगमा हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका थिए। सिंजालीविरुद्ध जिल्ला अदालत रूपन्देहीमा कर्तव्य ज्यान मुद्दा चलिरहेको छ। सोही मुद्दामाथि भएको बहसपछि जिल्ला अदालत रुपन्देहीले अभियुक्तलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो।
सोही स्थानका कृष्णबहादुर पुनको फर्ममा काम गर्ने सिंजालीले रूपन्देहीकै सैनामैना नगरपालिका–५ का ४० वर्षीय माधव मुसहर, उनकी श्रीमती ३५ वर्षीया जानकी मुसहर, फर्ममै बस्ने पोषराज मुसहर तथा स्थानीय करण चौधरी र आशिष चौधरीको सामूहिक हत्या गरेका थिए। आदेशपछि अभियुक्तलाई आइतबार नैं जिल्ला कारागार भैरहवा पठाइएको प्रहरीले जनाएको छ।