बुटवल–रुपन्देहीको तिलोत्तमामा मंगलबार भएको सामूहिक हत्या व्यक्तिगत चरित्रमाथि उठाएको प्रश्नका कारण उत्पन्न आवेशले घटाएको प्रारम्भिक रिपोर्ट प्रहरीले सार्वजनिक गरेको छ ।
प्रदेश ५ प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारको नेतृत्वमा गठित ३ सदस्यीय छानबीन समितिले बुधबार प्रारम्भिक रिपोर्ट सार्वजनिक गर्दै सामूहिक हत्याको कारण व्यक्तिगत चरित्रमाथि प्रश्न उठाएपछि उत्पन्न आवेश नै रहेको दाबी गरेको हो ।
प्रहरीले हत्याको अभियोग लागेका व्यक्तिमाथि फर्ममै काम गर्ने सहकर्मी र स्थानीयले चारित्रिक विषय उठाएर हाँसोको पात्र बनाएको आवेशमा हत्या गरेको दाबी गरेको हो ।
सुर्खेत लेकबेसी नगरपालिका ५ स्थायी घर भई तिलोत्तमा १० गंगादेवी पशुफर्ममा काम गर्ने ३१ वर्षका झसेन्द्र बहादुर सिंजालीलाई इलाका प्रहरी कार्यालय बुटवलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै प्रहरीले चरित्रहत्या गरेकै कारणले सामुहिक हत्या गर्ने अवस्थामा पुगेको बताएको छ ।
फर्ममा काम गर्ने रुपन्देही सैनामैना ५ दरखासी स्थायी घर भई फर्ममै बस्ने ४० वर्षीय माधव मुसहर, उनकी श्रीमती ३७ वर्षीया जानकी मुसहर, फर्ममै बस्ने १६ वर्षका रमेश भन्ने पोषराज मुसहर, स्थानीय १५ वर्षका करण चौधरी र १६ वर्षका आशिष चौधरीको हत्या भएको थियो ।
प्रहरी वरिष्ठ उपरीक्षक बैदवारले अभियुक्तमाथि फर्ममा काम गर्ने अरु सहकर्मीहरुले पटकपटक चरित्रमाथि प्रश्न उठाएर हाँसोको पात्र बनाउने गरेकोले रिसको झोँकमा हत्या गरेको बयान अभियुक्तले दिएको बताए ।
मंगलबार राती सिंजालीसहित फर्ममा बसेका सबैजसोले मदिरा सेवन गरेको र सोही स्थानबाट गाँजा समेत फेला परेको उनले बताए ।
अभियुक्तले केहीदिनअघि मुसा मार्ने विष किनेर ल्याएको र मदिरामा मिसाएको हुनसक्ने प्रहरीको अनुमान छ । जसका कारण त्यहाँ रहेकाहरु लठ्ठिएको मौकामा फरुवा र लाठीले हिर्काएर हत्या गरेको प्रहरीले बताएको छ ।
‘मदिरा सेवन गर्नेक्रममा कुराकानी हुँदा उनीमाथि चारित्रिक हत्या हुने विषय उठेको र त्यसरी कुरा नगर्न आग्रह गर्दा हाँसोको विषय बनाएकोले हत्या गरेको बयान उनले दिएका छन्–बैदवारले भने–उनीहरु सबैजसोले मदिरा सेवन गरेर लठ्ठिएको र त्यही समयमा लाठीले टाउकोमा हिर्काएको देखिन्छ ।’
टाउकोमा हिर्काएपछि अर्धचेत भएका उनीहरुलाई फरुवाले फेरि हिर्काएको बयान अभियुक्तले दिएका छन् ।
‘अरु ४ जना पुरुषहरु त्यहीँ बसिरहेको समयमा उनीहरुलाई हानेर बेहोस बनाएको समयमा जानकी मुसहर अर्को कोठामा गएको र उनी आएर किन यस्तो गरेको भन्दै हँसियाले झसेन्द्रलाई हानेको देखिन्छ,–बैदवार भन्छन्–जानकीले हँसियाले हानेपछि झसेन्द्रले उनलाई लाठीले हिर्काएर बेहोस बनाएको र त्यसपछि फरुवाले हानेको पाइयो ।’
प्रहरीको अनुसन्धानअनुसार फर्मका सहकर्मी र कतिपय स्थानीयले झसेन्द्रलाई श्रीमतीले छाडेर गएको र उनको सम्बन्ध भैसीसँग हुने गरेको भन्दै गिज्याउँथे । यसैकारणले झसेन्द्र धेरैदिनअघिदेखि तनाबमा रहेको र आवेशमा आएको प्रहरीको भनाई छ ।
‘उनीसँगको बयानका क्रममा उनमा आफुलाई अरुले गिज्याउने, चरित्रमाथि प्रश्न उठाउने जस्ता कुराले धेरै सताइरहेको देखिन्छ, प्रहरी वरिष्ठ उपरीक्षक बैदवार भन्छन्–यसले उनमा मानसिक चोट पु¥याएको र आवेश उत्पन्न गराएको पाइन्छ, जसले यो घटना घट्ने अवस्था सिर्जना ग¥यो ।’
सिंजालीले ५ जनाको हत्या गरेपछि आफुले पनि आत्महत्या गर्ने प्रयास गरेको प्रहरीको भनाई छ । ‘आफुसँगै रहेका सबैको हत्या गरेपछि विक्षिप्त भएको र आफुले पनि मर्छु भनेर विष सेवन गरेको देखिन्छ–बैदवार भन्छन्–त्यसपछि उनी बेहोस भए ।’
प्रहरीले घटनाबारे अनुसन्धान गर्न बनेको समितिले प्रारम्भिक रिपोर्ट तयार पारेको र थप अनुसन्धान भने जारी राख्ने बताएको छ । रुपन्देही प्रहरी प्रमुख हेमकुमार थापाले घटनाबारे अनुसन्धान जारी रहने बताए । ‘यो घटनामा अहिलेसम्मको विवरण यत्ति नै हो, यसमा अरु कसैको संलग्नता वा निर्देशन केही छ या छैन भन्ने कुरालाई पनि विस्तृतमा अनुसन्धान जारी रहन्छ ।’
उनले पोष्टमार्टम रिपोर्ट र अभियुक्तले प्रयोग गरेका सामग्रीको प्रयोगशालामा परीक्षण गरेपछि थप विवरण खुल्ने बताए । ‘मृतकहरुको शरीरबाट भिसेरा र रगत निकालेर प्रहरी विधि विज्ञान प्रयोगशाला पठाउने छौं, उनले भने–त्यसपछि वास्तविक तथ्य सार्वजनिक गरिनेछ ।’
अभियुक्त सिंजालीलाई रुपन्देही जिल्ला अदालतबाट कर्तव्य ज्यान कसुरमा ७ दिनको म्याद थप गरेर अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा राखेको छ ।