बुटवल- रुपन्देहीमा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएपछि त्रास बढेको छ । यही वैशाख पहिलोसाता भारतको नयाँ दिल्लीबाट लुकिछिपी रुपन्देहीको कोटहीमाइ गाउँपालिकामा आएका २५ वर्षका युवामा कोरोना संक्रमण पुष्टि भएको हो ।
तर ती युवासँगै अरु २ सय ४२ जनाको स्वाब संकलन गरिएको छ । तीमध्ये १ सय ९ वटा नमूनाको काठमाडौमा र अरु नमूनाको रुपन्देहीस्थित प्रयोगशालामा परीक्षण भइरहेको छ । रुपन्देहीमा संक्रमित व्यक्ति रहेको भए यी परीक्षणबाट पत्ता लाग्नेछ । संक्रमणको आशंका गरिएका स्थानमा रहेका क्वारेन्टाइनमा परीक्षण गरेकाले संक्रमित रहे/नरहेको केहीदिनभित्रै पत्ता लाग्ने प्रादेशिक प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले बताए ।
भारतको नयाँ दिल्लीबाट लुकिछिपी आएका उनी कोटहीमाइको क्वारेन्टाइनमा बसिरहेका थिए । रुपन्देहीमा रेड जोनमा परीक्षण थालेपछि मात्रै उनको पनि थ्रोट स्वाब लिइएको थियो । उनको थ्रोट स्वाब परीक्षणका क्रममा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर पुष्टि गरेको छ । उनको थ्रोट स्वाब काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको थियो ।
उनलाई क्वारेन्टाइनबाट बुटवलस्थित कोरोना विशेष अस्पतालको आइसोलेशनमा भर्ना गरिएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।
वैशाख ५ गते ठोठरी नाकाबाट लुकिछिपी नेपाल आउनासाथ कोटहीमाईस्थित माझगावा आदर्श माविको क्वारेन्टाइनमा राखिएको थियो ।
भाईलाई लिन साईकल लिएर सीमासम्म गएका दाईलाई पनि क्वारेन्टाइनमा राखी अन्यको पनि ट्रेसिङ गरिरहेको प्रयोगशालाका निमित्त प्रमुख समेत रहेका स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए ।
वैशाख १७ गते उनको थ्रोट स्वाबको नमूना टेकु प्रयोगशाला पठाइएको थियो । अहिले ती युवाको अवस्था सामान्य छ ।
डा. राजेन्द्र गिरीसँग गरिएको कुराकानीको संक्षेप जस्ताको तस्तै
भारत र अन्य मूलुकहरुबाट आएकाहरुको परीक्षण गर्ने क्रममा रुपन्देहीका विभिन्न स्थानका क्वारेन्टाइनमा रहेका २ सय ४३ जनाको थ्रोट स्वाब लिइएको थियो । हामीले भैरहवाको प्रादेशिक प्रयोगशालामा १ सय ३४ वटा नमूना राखेर अरु काठमाडौं पठायौं । हामीसँग पर्याप्त किट नभएकाले अरु १ सय ९ वटा नमूना काठमाडौं पठायौं । काठमाडौं पठाएकोमध्ये भारतको दिल्लीबाट वैशाख ५ गते आएका २५ वर्षका युवामा कोरोना संक्रमण देखियो । उनको पोजेटिभ देखिएकाले उनको रिर्पोट तत्कालै आयो । अरुको पनि परीक्षण भैरहेको छ । भैरहवामा र काठमाडौंमा एकैसाथ परीक्षण भइरहेको छ । उनीहरुमा संक्रमण भए/नभएको रिपोर्ट उनीहरुकै मोबाइलमा म्यासेज आउने व्यवस्था गरिएको छ । अहिले जसको रिर्पोट पोजेटिभ आयो, उनलाई दाजुले ल्याएका रहेछन् । उनी आफ्ना दाजुबाहेक अरुको सम्पर्कमा गएका छैनन् ।
रुपन्देहीमा २ हजार जना विदेशबाट आएको भन्ने तथ्यांकका आधारमा हामीले परीक्षण गरिरहेका छौं । हामीले रेड जोनको रुपमा लिएकै ठाउँमा संक्रमण देखिएकाले अरु सचेत हुन जरुरी छ । हामीले नियमित परीक्षण गरिरहेका छौं । १४ दिनभन्दा धेरै दिन भइसकेका व्यक्तिहरुलाई आरडीटी परीक्षण गरेर घर पठाउने गरिएको छ । विदेशबाट आएकाहरु रहेका क्वारेन्टाइनहरुमा नियमित रुपमा परीक्षण भइरहेको छ ।
परीक्षणलाई अरु तीब्र रुपमा अघि बढाउन हामीसँग एउटा किट अभाव छ । अहिले हामीसँग रहेको किट आइसोलेशनमा भर्ना भएका बिरामीहरुको परीक्षणका लागि मात्रै राखेका छौं । अरु १–२ दिनलाई मात्रै आइसोलेशनमा रहेका बिरामीको परीक्षणका लागि किट राखिएको छ । पीसीआर मेसिनले डीएनए हेर्छ, त्यो आरएनएलाई डीएनए प्रोसेसिङ गरेर हेर्ने हो । यसका लागि एउटा सामान्य उपकरण नभएपछि परीक्षण पूरा गर्न सकिदैन । त्यसैले हामीले लिएका नमूना काठमाडौं पठाउनुपरेको हो ।