बुटवल- कोरोना भाइरस (कोभिड १९) का कारण बढ्दै गएको तनाब व्यवस्थापन तथा प्रतिरोधात्मक क्षमता बढाउन प्रदेश ५ सरकारले आयुर्वेद चिकित्सा विज्ञानलाई अग्रपंक्तिमा ल्याउने तयारी गरेको छ।
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले आयुर्वेद चिकित्सामार्फत् मानिसको रोगसँग प्रतिरोधात्मक क्षमता बढाउनका लागि उनीहरुलाई परिचालन गर्न लागेको जनाएको हो। मन्त्रालयले आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रका चिकित्सकलाई कोरोनाको लडाईंमा परिचालन गर्ने जनाएको छ।
प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले आयुर्वेद चिकित्सा क्षेत्रलाई दीर्घकालीन रुपमा अगाडि बढाउने गरी कार्ययोजना बनाइएको बताए। आयुर्वेदिक औषधिको सेवनले मानिसमा रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै तनाब व्यवस्थापनको कामसमेत गर्ने उल्लेख गर्दै अहिलेबाटै आयुर्वेद चिकित्सालाई अग्रपंतिमा राखेर काम गर्न लागिएको उनले बताए।
'प्रदेशभित्र रहेका आयुर्वेद चिकित्सक, स्वास्थ्यकर्मी र अन्य जनशक्तिलाई क्वारेन्टाइनहरुमा परिचालन गर्छौं,’ मन्त्री बरालले भने, ‘यसले क्वारेन्टाइनमा रहेका व्यक्तिलाई प्रतिरोधात्मक क्षमता बढाउनमा र तनाब व्यवस्थापमना सहयोग पुग्ने छ।'
मन्त्री बरालले आयुर्वेदका स्वास्थ्यकर्मीहरुको नेतृत्वमा मनोचिकित्सक र योग प्रशिक्षकहरु पनि परिचालन हुने बताए।
मन्त्रालयले जारी गरेको श्रोत सामग्रीमा कोरोना भाइरसका संक्रमित तथा संभावित क्षेत्रबाट आएका व्यक्तिहरुलाई निगरानीस्थलमा तथा एकान्तबासमा बस्ने, कोरोना भाइरस संक्रमण पुष्टि भएका लक्षण नदेखिएका वा सामान्य लक्षण देखिएका व्यक्तिहरुलाई मनोसामाजिक परामर्शका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका आहार-विहार (योग, ध्यान, नृत्य, हास्य विधि) तथा स्थानीय स्तरमा उपलब्ध जुडिबुटीबाट निर्मित औषधिको सेवनमा प्रोत्साहित गर्नु रहेको जनाएको छ।
त्यसका लागि जिल्लामा मनोचिकित्सक र योग प्रशिक्षकको जनशक्ति पहिचान गर्ने काम भइरहेको बताइएको छ।
प्रदेश सरकारले प्रदेश र साविकका अञ्चल स्तरका चिकित्सालयलाई केन्द्रित गरी भौतिक पूर्वाधार, औषधि, उपचार सामग्री र जनशक्ति व्यवस्थापनमा काम गरिरहेको मन्त्री बरालले बताए। मन्त्री बरालले जिल्ला स्तरका आयुर्वेदहरुलाई ११ लाख रुपैयाँ निकासा गरी सबै ठाउँमा पठाई सकेको बताए।
उनले प्रदेश ५ को बुटवल र दाङमा आयुर्वेद औषधि उत्पादन गर्ने गरी काम अगाडि बढाएको समेत बताए। बरालले भने ‘आयुर्वेदको प्रोटोकल बनाउन लागेको छौं।’
प्रदेश ५ मा एउटा प्रादेशिक आर्युवेद चिकित्सालय, २ वटा अञ्चल तहको, ८ वटा जिल्ला तहको र ३९ स्थानीय तहमा ५४ वटा आयुर्वेदक केन्द्रहरु रहेका छन्। जहाँ २ सय ७३ जना स्वास्थ्यकर्मीहरु रहेको र त्यसमध्ये १५ जना चिकित्सक रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका डा पुष्पराज पौडेलले जानकारी दिए।
आयूर्वेद चिकित्सक डा. पुष्पराज पौडेलले आयुर्वेदिक चिकित्सामार्फत् कोरोना नियन्त्रण सम्भव हुने भएकाले प्रदेशमा पहिलो पटक आयुर्वेद स्वास्थ्यकर्मीलाई परिचालन गर्न लागिएको बताए। कोरोनाको तनाब व्यवस्थापन, निगरानी स्थल, एकान्तबासमा रहेका सर्वसाधरण तथा ती स्थलमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई, तनाब व्यवस्थापन, रोग प्रतिरोधात्मक उपायहरु, सरसफाईका उपायहरु, सामाजिक दूरी राख्ने लगायतका विषयमा जानकारी गराउने विधिकोबारेमा उनीहरुलाई परिचालन गर्ने डा पौडेलले बताए।
मन्त्रालयका सचिव डा गोपीकृष्ण खनाल, मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीलगायतले आयुर्वेद र त्यस्का बारेमा छलफल गरेका थिए।
सामाजिक विकास मन्त्रालयले ‘आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन सन्दर्भमा स्रोत सामग्री–२०७७’ समेत जा गरेको छ।