बुटवल–रुपन्देहीमा कोरोनाको आशंकामा कोरोना विशेष अस्पतालमा भर्ना भएका एक युवाको मृत्यु भएको छ।
उनमा कोरोना संक्रमण छ छैन भन्ने परिक्षणका लागि आज मात्र थ्रोट स्वाब केन्द्रीय प्रयोगशाला काठमाडौ पठाइएकाले मृत्युको कारण बताउन नसकिने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र खनालले बताए।
कोरोनाको संक्रमणका कारण देखिने लक्षणहरु देखिएका उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि आज बिहान निधन भएको लुम्बिनी प्रादेशिक अस्पताल कोरोना फोकल पर्शन डा सुदर्शन थापाले जानकारी दिए।
उनमा कोरोनाको संक्रमण भएको थियो या थिएन भन्ने पुष्टि भएको छैन। उनको रिपोर्ट आएपछि मात्रै पुष्टि हुने थापाले बताए।
दुबईबाट चैत ६ गते नेपाल आएका रुपन्देही सैनामैना ४ का ३९ वर्षीय ती युवा १३ गते विशेष अस्पतालमा भर्ना भएका थिए। ७ गते ज्वरो आएपछि घरमै औषधि खाइरहेका उनलाई असहज भएपछि १३ गते कोरोना विशेष अस्पताल भर्ना भएका थिए।
उपचारकै क्रममा उनको थ्रोट स्वाब परिक्षणका लागि आज १६ गते काठमाडौ पठाइएको थियो।
उनको मृत्यु पश्चात उनको परिवार र उनको सम्पर्कमा रहेकाहरुको खोजी गरेर स्वास्थ्य परीक्षण गरिने र परिवारलाई समेत स्वाबको रिपोर्ट नआउदा सम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिने समेत डा. खनालले जानकारी दिए।