बुटवल–कोरोनाको त्रासका बाबजुत युवायुवती निधक्कसँग होली खेले। गत वर्ष भन्दा यस वर्ष होली मनाउनेको संख्या कम भएपनि युवायुवतीले होलीको माहोल बनाएका थिए।
सरकारले कोरोना भाइरसको जोखिमको कारण भिडभाड हुने खालका कार्यक्रम नगर्न आग्रह गरेपछि विगतका वर्ष जस्तो सांगितिक कार्यक्रम भएनन्, संघ संस्थाहरुले पनि सामुहिक रुपमा होली मनाएनन्।
तर स्वतस्फूर्त होली खेल्नेको भने कमी थिएन। गत वर्ष ट्राफिकचोक, देवीनगर, मिलनचोकमा हुने सांगितिक कार्यक्रममा थामी नसक्नुको भिड हुन्थ्यो। तर यसपटक ती स्थान सुनसानजस्तै देखिए।
होलीको माहोल सडक, सडक पेटी र आकासे पुलसम्म देखिन्थ्यो । राजमार्ग चौराह, मिलनचोक, भुड्कीचोकको आकासे पुलमा युवायुवतीहरु एकआपसमा फोटो खिचिरहेका थिए।