गुल्मी– बाल मन्दिर। बालबालिका सिक्ने ठाउँ। बा–आमापछिको पहिलो पाठशाला। जहाँ बालबालिकालाई अक्षारम्भ र एक वर्ष विद्यालयको अभ्यास गराइन्छ। मंगलबार बिहेका कारण बाल मन्दिर पार्टी प्यालेसभन्दा कम थिएन। गुल्मी सदरमुकामको मुटु अर्थात् जिल्ला प्रशासन कार्यालयको अगाडीकै बाल मन्दिरमा बालबालिकाको पढाई स्थगित गरेर बिहेको भोज सञ्चालन गरियो। तम्घास बाल मन्दिरको प्रध्यानाध्यापक भिम कुमारी श्रेष्ठले पहिलेदेखि बिभिन्न कार्यक्रममा बाल मन्दिर प्रयोग भएकाले अहिले पनि भाडामा बिहे भोजको लागि दिएको बताइन्। मंगलबार स्थानीय बसपार्ककै चोप नारायण पाण्डेयका छोराको बिहे भोज बालमन्दिरमा राखिएको थियो।
’भोजका कारण पढाई प्रभावित हुने भएकाले बालबालिका बालमन्दिर बोलाएनौ,’श्रेष्ठले भनिन,–‘समितिलाई सोधेर भाडामा दिएकी हुँ।’ श्रेष्ठमा अनुसार बाल मन्दिरमा अहिले ५४ जना बालबालिका छन्। त्यो मध्ये ३०/३५ जना नियमित आउँछन्। दुई बर्ष पुरा भएर चार बर्ष नपुगेका बालबालिकालाई बालमन्दिरमा प्रत्येक बर्ष फागुन १ गते भर्ना लिने गरिएको प्रध्यानाध्यापक श्रेष्ठले जानकारी दिइन्। एक बिद्यार्थीको एक हजार समितिले भर्ना शुल्क लिने गरेको छ। बाल मन्दिरमा समितिको स्रोतबाट प्रध्यानाध्यापक श्रेष्ठ र दुई कार्यालय सहयोगी तथा दरबन्दीमा दुई शिक्षिका कार्यरत छन्।
भाडाकै कारण अस्तित्व संकटमा
तम्घास बाल मन्दिर ०३२ सालमा स्थापना भएको हो। यो बाल मन्दिर पहिले राजपरिवारको संरक्षकत्वमा सञ्चालनमा रह्यो। अहिले नेपाल बाल संगठन गुल्मी मार्फत बालमन्दिरको व्यवस्थापन र संचालनको काम भइरहेको छ। पैसाकै लागि दलका सभादेखि बिहेका पार्टीमा समेत प्रयोग भएकाले बाल मन्दिरको अस्थित्व समेत संकटमा परेको छ। अन्य समयमा पनि थुप्रै पटक बालमन्दिरमा सभा सम्मेलन सञ्चालन भएकाले बालबालिकाको भविष्य माथि बर्षौदेखि खेलवाड भइरहेको छ। यो बिषयमा सवै तै चुप मै चुप छन्। भाडाको नाउँमा बालमन्दिरको पवित्रता नामेट पार्ने काम भएको नागरिक समाज गुल्मीका संयोजक पदम प्रसाद पाण्डेयले बताए। सदरमुकामै बालबालिकाको पढाई बन्द गरेर पैसाको लागि बालमन्दिरमा बिहे भोज हुनु लज्जाको बिषय भएको पाण्डेयले बताए। उनले पञ्चायतकालमा राजारानी आएर बालमन्दिर हेर्ने र बस्ने तथा संरक्षणको लागि आवश्यक बजेट उपलब्ध गराउने गरेको स्मरण गरे।
बालमन्दिर व्यवस्थापनको संकट
जिल्ला बाल कल्याण समितिका सचिव हरि कुमार श्रेष्ठले बालमन्दिरको व्यावस्थापनकै लागि भाडामा दिने निर्णय धेरै पहिलेबाटै गरिएको बताए। केहि बर्ष पहिलेसम्म सदरमुकाममा अन्य कुनै स्थानमा सभाहलसहितको सार्वजनिक स्थल नभएकाले दलदेखि संघसंस्थाले बालमन्दिरको प्रयोग बढि गर्थे। अहिले पार्टी प्यालेस खुलेका छन्। होटलहरुमा समेत हल बनाउन थालिएको छ। तर पनि बालमन्दिर खोज्न छोडिएको छैन। त्यसको कारण बालमन्दिरमा कम शुल्क छ। सचिव श्रेष्ठले प्रति दिन दुई हजारका दरले बालमन्दिर भाडामा दिने निर्णय गरेको बताए। स्थानीय समेत रहेका अधिवक्ता विनोद पाण्डेयले राज्यले बालमन्दिर पुरानो ऐतिहासिक शैक्षिक संस्था भएकाले संरक्षणमा ध्यान पुराउनुपर्नेमा जोड दिए। ‘राज्यले बजेट दिएर बालमन्दिरको संरक्षण गरे, समितिले पनि भाडामा दिने निर्णय सच्याउनुपर्यो,-’उनले भने,-‘भाडाकै लागि भोज खाने र राजनैतिक अखडा बालमन्दिर बन्नु हुँदैन।’