काठमाडौं- सरकारले नेपाल ट्रष्टको नाममा रहेको चल अचल सम्पत्ति सार्वजनिक गरेको छो। एक श्वेतपत्र जारी गर्दै सरकारले ट्रष्टको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। ट्रष्टका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार श्वेतपत्र जारी गरेका हुन्।
श्वेतपत्र अनुसार नेपाल ट्रष्टको नाममा देशभर करिब २२ हजार रोपनी जग्गा रहेको छ। १२ वटा जिल्लामा ट्रष्टको नाममा सम्पत्ति रहेको पोखरेलले बताए। ट्रष्टका नाममा ७८ करोड नेपाली रुपैयाँ, १ लाख ४८ हजार अमेरिकी डलर र ५० हजार पाउन्ड समेत रहेको छ।
तत्कालिन राजा वीरेन्द्रको परिवारका नाममा रहेको २१ हजार ५६२ रोपनी जग्गा नेपाल ट्रष्टको स्वामित्वमा आएको श्वेतपत्रमा उल्लेख छ। ट्रष्टको सबै भन्दा बढी ४ हजार ४४२ रोपनी जग्गा काठमाडौंमा रहेको छ।
नियम अनुसार नै लिज नविकरण गरिएको र दिइएको पोखरेलले बताए। गोकर्ण रिर्सोटको म्याद अवधी पनि नियम अनुसार ट्रष्टलाई फाइदा पुग्नेगरी गरिएको उनले बताए।
ट्रष्ट सम्पत्ति खोज्ने काम पनि भइरहेको पोखरेलले बताए। २०६४ सालमा नेपाल ट्रष्ट बनाएर राजा वीरेन्द्र र उनका परिवारको नामबाट सम्पत्ति ट्रष्टमा ल्याइएको थियो।
ट्रष्टको जग्गा भाडामा दिँदा को संलग्न थिए ?
दरबारमार्ग र ताहाचलको जग्गा यती होल्डिङलाई लिजमा दिँदा क्रमश: पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा प्रधानमन्त्री रहेको स्वेतपत्रमा उल्लेख छ।
दरबारमार्गको जग्गा यती समूहको थामसेर्कु ट्रेकिङ प्रालिले प्राप्त गर्ने निर्णय हुँदा प्रधानमन्त्री नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ट्रष्टको अध्यक्ष गृहमन्त्री विमलेन्द्र निधी रहेको श्वेतपत्रमा उल्लेख गरिएको छ।
दरबारमार्गमा १ रोपनी १५ आना जग्गा थामसेर्कुले २०७४ वैशाख ५ गते प्राप्त गरेको थियो। थोमसेर्कुले दरबारमार्गको जग्गा १ अर्ब ४० करोड १० लाख ८६ हजारमा प्राप्त गरेको हो। त्यस्तै, ताहाचलको जग्गा थामसेर्कुले प्राप्त गर्दा ट्रष्ट्रको संरक्षकको हैसियतमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेको र अध्यक्षमा गृहमन्त्री जनार्दन शर्मा रहेको श्वेतपत्रमा उल्लेख छ।
ताहाचलमा सोल्टी होटलसँगै रहेको २ हजार १ सय ९० वर्गमिटर जग्गा २७ करोड ७४ लाख ७५ हजारमा थामसेर्कुले २०७४ कात्तिक १३ गते प्राप्त गरेको थियो ।
नेपाल ट्रस्टको दरबारमार्गमा रहेको एक रोपनी १४ आना एक पैसा क्षेत्रफलको जग्गा ३० वर्षका लागि एक अर्ब ४० करोडमा भाडामा दिइएको स्वेतपत्रमा उल्लेख छ। प्रारम्भमा ६ अर्ब ४५ करोड ६६ लाखको प्रस्ताव गरिएको उक्त जग्गा भाडा स्वीकृत गर्दा भने जम्मा एक अर्ब ४० करोडमा थामसेर्कु टेकिङ प्रा.लिलाई दिइएको हो।
तल्कालीन प्रधानमन्त्री सुशील कोइराला र ट्रस्टको अध्यक्षमा तत्कालीन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम भएका बेला भाडामा दिने निर्णय भएको खुलेको छ। नेपाल ट्रस्ट सञ्चालक समितिको २०७१ साउन २८ गते बसेको बोर्ड बैठकले दरबारमार्गको जग्गा लिजआउट गर्ने गरी वार्षिक कार्यक्रम र बजेट स्वीकृत गरेको थियो।
सोही बैंठकले कमलादी, हेटौंडा र ताहाचल सोल्टी आउटर कम्प्लेक्सलाई पनि लिजआउट गर्ने गरी वार्षिक कार्यक्रम र बजेट स्वीकृत गरेको श्वेतपत्रमा उल्लेख छ। बैठकको निर्णयका आधारमा मिति २०७३-०३-१४ मा दरबारमार्गको जग्गा लिजआउट गर्न गोरखापत्रमा सूचना प्रकाशन भएको थियो। थामसेर्कु टेकिङ प्रा.लि, अद्रिसिय/लियोनज जेभी, क्लब सांग्रिला प्रा.लि, साइमेक्स इन्क प्रा.लि, साखः स्टिल इन्डस्ट्रिज प्रा.लि र प्योर क्लोथिबले दरबार मार्गको जग्गा लिजमा लिनका लागि प्रस्ताव पेस गरेका थिए।
प्रस्तावमा थामसेर्कु टेकिङ प्रा.लिले कबोल गरेको १ अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रुपैयाँ ३१ पैसा, अद्रिसिय÷लियोनज जेभीले कबोल गरेको ६२ करोड २४ लाख ५९ हजार ८ सय १६ रुपैयाँ र साखः स्टिल इन्डस्ट्रिज प्रा.लि ले कबोल २६ करोड २८ लाख रुपैयाँले मात्रै प्राविधिक प्रस्तावमा सफल भएको रक्षामन्त्री पोख्रेलले जारी गरेको श्वेतपत्रमा उल्लेख गरिएको छ।
ट्रस्टले प्राविधिक प्रस्ताव स्वीकृत गरिएको आशयको सूचना २०७३ कात्तिक २४ गते प्रथम पटक प्रकाशित गरेको र २०७३ माघ २१ गते आर्थिक प्रस्ताव मूल्यांकनका प्रतिवेदनहरू पेस गरेको थियो।
उक्त जग्गा थामसेर्कु प्रा.लि लाई ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९ सय ९४ रुपैयाँको प्रस्तावलाई २०७३ फागुन ६ गतेको सचिवस्तरीय निर्णयबाट स्वीकृति प्रदान गरेको र २०७३ फागुन १० गते गोरखापत्र दैनिकमा आर्थिक प्रस्ताव स्वीकृत गरिएको आशयको सूचना प्रकाशित गरेको उल्लेख छ।
तर थामसेर्कु ट्रेकिङ प्रा.लिले भने ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९९४ रुपैयाँ ३१ पैसाको प्रस्ताव आफ्नो कम्पनीले नगरेको दाबीसहित १ अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रुपैयाँ ३१ पैसाको प्रस्ताव कायम गर्न नेपाल ट्रस्टको कार्यालयमा २०७३ फागुन १८ मा निवेदन दर्ता गरेको थियो।
उक्त निवेदनमा ट्रस्टको कार्यालयले छानबिन गरेको र कार्यालयकै त्रुटि रहेको समेत श्वेतपत्रमा उल्लेख देखिन्छ।
छानबिनपछि २०७४ वैशाख ५ गते कार्यकारी सचिवले १ अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रुपैयाँ ३१ पैसाको प्रस्ताव नै स्वीकृत गरेको थियो।
सुरुमा ६ अर्ब ४५ करोड ६६ लाखको प्रस्ताव स्वीकृत भएको सूचना प्रकाशित गर्नु र पछि त्रुटि भएको भन्दै १ अर्ब ४० करोडको अर्को प्रस्तावलाई स्वीकृत गर्नुले केही प्रश्न भने उब्जिएको देखिन्छ।
दोसो पटक १ अर्ब ४० करोडमा जग्गा लिजको प्रस्ताव स्वीकृत गर्दा ट्रस्टको संरक्षक प्रधानमन्त्रीमा पुष्प कमल दाहाल प्रचण्ड र अध्यक्षमा गृहमन्त्री विमलेन्द्र निधि रहेका थिए।
एक रोपनी १४ आना एक पैसा क्षेत्रफलको उक्त जग्गामा थामसेर्कु ट्रेकिङ प्रा.लिले कम्प्लेक्स बनाइसकेको छ। उक्त जग्गा २०७४ जेठ १४ देखि २१०४ जेठ १३ गते सम्म ३० वर्षको लागि सम्झौता भएको हो।
कम्पनीले २०७४ देखि २०७७ सम्म निमार्ण अवधिका लागि ५० लाख, २०७८ देखि २०८१ वार्षिक ४ करोड ५० लाख, २०८२ देखि २०८६ सम्म वार्षिक ४ करोड ५४ लाख ५० हजार वार्षिक भाडा नेपाल ट्रस्को कार्यालयलाई बुझाउनेछ। यस्तै २०८७ देखि २०९१ सम्म वार्षिक ४ करोड ५९ लाख २२ हजार ५ सय, २०९२ देखि २०९६ सम्म वार्षिक ४ करोड ६४ लाख १८ हजार ६ सय २५, २०९७ देखि २१०१ सम्म वार्षिक ४ करोड ६९ लाख ३९ हजार ५ सय ५६ र २१०२ देखि २१०४ सम्म वार्षिक ११ करोड ८७ लाख १६ हजार ३ सय ३५ रुपैयाँ भाडा बुझाउने उपप्रधानमन्त्री पोख्रेलले जारी गरेको श्वेतपत्रमा उल्लेख गरिएको छ।