बुटवल-प्रदेश ५ सरकारले आफ्ना गतिविधि र उपलब्धिबारे जानकारी दिन शनिबारदेखि दाङको बेलझुन्डीमा ‘प्रदेश एक्स्पो’ शुरु हुँदै छ। मुलुक संघीयतामा गएपछि बनेको प्रदेश सरकारका दुई वर्षका उपलब्धि र प्रदेशको सम्भावनाबारे नागरिकका सुझावसमेत संकलन गर्ने उद्देश्यले प्रदेश एक्स्पो गर्न लागिएको हो।
‘प्रदेश एक्स्पोमा सहभागी हौऔं, समृद्ध प्रदेश खुशी जनताको अभियान सफल पारौं’ भन्ने नाराका साथ फागुन १०, ११ र १२ गते तीन दिने एक्स्पोको आयोजना गरिएको प्रदेश सरकारले बताएको छ। प्रदेश ५ को विविधता, उत्पादन, पहिचान, संस्कृति र विकासको स्थिति तथा पर्यटन, स्वास्थ्य, शिक्षा तथा सस्कृतिको विकासलाई नमूनाका रुपमा स्थापना गरी जनतामा उत्साह ल्याउन एक्स्पो गरिएको सरकारको भनाइ छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकरप्रसाद खरेलले एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको बताए। एक्स्पोले ‘समृद्ध प्रदेश खुसी जनता’को लक्ष्य पूरा गर्न, समान उत्साह र समान खुसी पैदा गर्न अभिप्रेरित गर्ने सचिव खरेलको भनाइ छ। एक्स्पोमा मन्त्रालयहरूको छुटाछुट्टै प्रदर्शनी राखिनेछ।
सचिवालयका अनुसार मुख्यमन्त्रीको कार्यालयबाट दुई वर्षमा भएका उपलब्धिबारे वृत्तचित्र प्रदर्शनी गरिनुका साथै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको जानकारी गराउनुका साथै प्रदेश समन्वय परिषद्का गतिविधिबारे जानकारी दिइनेछ।
एक्स्पोमा सर्वसाधारणका लागि सुझाव पेटिकाको व्यवस्था गर्दै सोही अवसरमा प्रदेश सरकारले तयार पारेका पुस्तिका तथा पर्चा वितरण गरिने सचिव खरेलले जानकारी दिए। आर्थिक मामिला तथा योजना मन्त्रालयबाट पनि प्रदेशअन्तर्गतका स्थानीय तहका अधिकारीका लागि वित्तीय व्यवस्थापनको परामर्श तथा तालिम सञ्चालन गर्ने, लगानी सम्मेलनको तयारीबारे जानकारी गराउने लगायतका कार्यक्रमहरु एक्स्पोकै बीचमा हुनेछन्।
भौतिक पूर्वाधार विकास मन्त्रालयबाट नवीन निर्माण प्रविधि तथा भूकम्प प्रतिरोधी संरचनासम्बधी प्रदर्शनी, भवन निर्माण प्रविधि, खानेपानी, सिँचाइ नवीकरणीय ऊर्जासम्बधी प्रदर्शनी गर्ने, झोलुङ्गे पुल तथा सडक पुलका नमूना र खानेपानीको गुणस्तर परीक्षणका विधि पनि उक्त प्रदर्शनीमा देखाइनेछ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट प्रदेश ५ को कलासंस्कृति झल्किने नृत्य, सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रस्तुति गर्ने, भ्रमण वर्ष २०२० को जानकारी तथा प्रचारप्रसार गर्ने, स्थानीय घरेलु तथा व्यावसायिक उत्पादनका सामग्री प्रदर्शन गर्ने छ।
प्रदेशसभा सचिवालयले प्रदेशसभामा गरिएका कार्यक्रमको प्रस्तुति, नमुना सांसदको अभ्यास तथा प्रदेशसभाको वृत्तचित्र प्रस्तुत गर्ने, विधेयक र स्मारिका वितरण गर्ने गरि तयारी भएको छ। सामाजिक विकास मन्त्रालयले योग तथा ध्यान कार्यक्रम सञ्चालन, बालकालिकाका लागि खेलकुद प्रदर्शन गर्ने, शैक्षिक तथा वैज्ञानिक कार्यक्रम गर्नेछ। यसैगरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि प्रविधि तथा प्रदेशका प्रमुख उत्पादनको प्रदर्शनी गरिनेछ।
प्रदेश सरकारले दुई वर्षमा के कस्ता कामहरु गर्न सक्यो र अब कस्ता कार्यक्रम गर्नुपर्छ भन्ने हिसाबले मापन गर्नका लागि पनि एक्स्पो गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार शेरबहादुर केसीले बताए। उनले प्रदेश सरकारलाई जनतासँग जोड्नका लागि पनि दाङमा एक्स्पोको कार्यक्रम गरिएको जनाए।
‘यो कुनै व्यापारिक संघसंस्थाले गर्ने जस्तो मेला महोत्सव होइन, यो प्रदेशको चिनारी गराउने फरक खालको प्रदर्शनी हो,’ प्रेस सल्लाहकार केसीले भने। प्रदेश एक्स्पोलाई भव्यरुपमा सम्पन्न गर्न प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको संयोजकत्वमा मूल समारोह समिति गठन गरी तयारी गरिएको थियो।
एक्स्पोका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ५० लाख बजेट छुटटाएको छ भने प्रत्येक मन्त्रालयले एक्स्पोका लागि आफैले खर्चको व्यवस्थापन गरेका छन्। प्रदेशको अस्थायी राजधानी बुटवलबाट प्रदेशका मुख्यमन्त्री सहितका मन्त्री र कर्मचारीहरू तीन दिनसम्म दाङको बेलझुन्डीमा रहनेछन्।