बुटवल–बुटवल उपमहानगरपालिकाको ६१ औं स्थापना दिवसमा विभिन्न कार्यक्रम आयोजना गरेको छ। मुल समारोहको कार्यक्रम भने प्रदेश ५ को स्थापना दिवसका अवसरमा फागुन ३ गते संयुक्त रुपमा हुनेछ।
‘सक्रिय बुटवलबासी, समुन्नत नगर, स्वस्थ्य जीवनशैली सबैको रहर’ भन्ने नाराका साथ उपमहागरका सबै वडाहरुमा विशेष अभियान सुरु गरिएको बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए।
फागुन ३ गते विहान ८ बजे बुटवलको राजमार्ग चौराहाबाट र्याली सुरु भएर बहुमुखी क्याम्पसको प्राङ्गणमा सभामा परिणत हुने र झाँकीमा सहभागी हुने संघ–संस्था तथा समूहहरुलाई साजसज्जाका आधारमा नगदसहित पुरस्कृत गर्ने गरि तयारी भइरहेको उपप्रमुख गुमादेवी आचार्यले बताइन्।
दिवसकै सन्दर्भमा बुटवल उपमहानगरपालिकाले फागुन २ मा उपमहानगरपालिका क्षेत्रको राजमार्ग परिसरमा विशेष सरसफाई कार्यक्रमको आयोजना गरेको वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेलले जानकारी दिए।
बुटवलमा तीन दिने कार्यक्रम, मैत्रीपूर्ण भलिवलमा कर्मचारी विजयी
बुटवलले स्थापना दिवसको अवसरमा फागुन १ गतेदेखि तीन दिने विभिन्न कार्यक्रमको आयोजना गरेको छ । सोहीक्रममा बिहीबार जनप्रतिनिधि र कर्मचारी तथा महिलाहरुका बीचमा मैत्रीपूर्ण भलिवल खेल भएको छ। जनप्रतिनिधि–कर्मचारी मैत्रीपूर्ण खेलमा कर्मचारीको समूहमा एक–दुईको सेटमा विजयी भएको छ।
उपमहानगरको नगर खेलकुद विकास समितिले स्थापना दिवसका अवसरमा दुईदिने विभिन्न खेलकुदका कार्यक्रमहरु सञ्चालन गरेको हो।
समितिका अध्यक्ष नन्दु काउचाले मैत्रीपूर्ण खेलमार्फत सहकार्य र एकताको भावना प्रदर्शन गर्नेगरी कार्यक्रमहरु आयोजना गरिएको बताए।
महिलाहरुका बीचमा दुईवटा समूह बनाएर प्रतिस्पर्धा गराइएकोमा उपप्रमुख गुमादेवी आचार्यको समूह प्रथम भएको छ। यस्तै म्युजिकल चेयर प्रतियोगितामा पुरुषतर्फ उपमहानगरका कार्यपालिका सदस्य एवम् वडा नंं १० का अध्यक्ष पदम थापा प्रथम, प्रकाशमणि बस्याल द्वितीय र कमल चिदी तृतीय भएको खेलकुद विकास समितिका सदस्य तथा कार्यक्रम सञ्चालक प्रेमबहादुर बस्नेतले जानकारी दिए। सोही प्रतियोगिताको महिलातर्फको खेलमा कमला चुँदाली प्रथम, उपप्रमुख आचार्य द्वितीय र पुनम कुवँर तृतीय भइन्।