बुटवल। आज विश्व सिमसार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
‘सिमसार र जैविक विविधता’ भन्ने नाराका साथ आज यो दिवस मनाइँदै छ । सिमसार भन्नाले पानी र जमिन मिश्रित दलदल भएको र सधै अर्थात बाह्रैयाम पानी नसुक्ने भूूूमिहरु हुन् जस्मा सामान्यतया दलदल या हिलो सधै कायम रहन्छ ।
सिमसारक्षेत्रहरुका जीवहरु, वनस्पती एवं माटोको संरचनाले पृथ्वीको फोहोर पानी र मिसिएका रसायनहरुलाई छानेर सफा र स्वच्छ बनाईदिने भएकाले यी क्षेत्रहरुलाई पृथ्वीको मृगौला पनि भन्ने गरिन्छ ।
सिमसारको संरक्षण गर्न सन् १९७१ मा रामसार महासन्धि स्थापना भएपछि फेब्रूअरी २ (आजकै दिन) मा सिमसार दिवस मनाउन थालिएको हो । नेपाल सन् १९८७ मा सिमसार महासन्धिको सदस्य भएको हो । अहिले यो महासन्धीमा एक सय ६९ देश आवद्ध रहेका छन् ।
नेपालका सिमसार संरक्षणमा चुनौती बढ्दै गइरहेको र संरक्षणमा ध्यान नदिइएको गुनासो बढिरहेका बेलामा यसक्षेत्रमा भने सिमसार संरक्षणका केही नमुना कामहरु भइरहेका छन् । प्रदेश ५ सरकारले सिमसार संरक्षणका लागि प्रदेशका १२ वटै जिल्लामा विशेष अभियान सञ्चालन गरेको छ ।
प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले १२ जिल्लामा यस्तो अभियान विस्तार गरेको छ । पानीका मुल सुक्ने र भासिने समस्या भएका क्षेत्रको पहिचान गरि तिनै क्षेत्रमाा पहिलो कार्यक्रम सञ्चालन गर्न विभागीय मन्त्री लिला गिरीले निर्देशन दिएका थिए ।
उक्त मन्त्रालयले तालतलैया तथा सिमसार क्षेत्रहरूको संरक्षण, वनस्पति उद्यान निर्माणसंगै विभिन्न कामका लागि गत आवमा २२ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । वातावरण संरक्षणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न क्लब गठन तथा परिचालन, संवेदनशील सहरी जलाधार क्षेत्र संरक्षणका कामहरु अगाडि बढाइएको छ ।
जलवायु अनुकूलित गाउँ योजना निर्माण कार्यान्वयन, जलवायु परिवर्तनले पारेको प्रभावबारे अध्ययन तथा अनुसन्धान गर्दै जैविक विविधता संरक्षण सचेतनाका गोष्ठीसमेत सञ्चालन गरेको छ । यस्तै जैविक स्रोत तथा वनस्पतिको परम्परागत ज्ञानको अभिलेखीकरण राख्ने काम पनि प्रदेश सरकार सुरु गरेको छ । रुकुमपूर्वदेखि नवलपरासीपश्चिमका जिल्लाहरुमा कार्यक्रम अगाडि बढेको मन्त्रालयका अधिकृत (आठौं तह) टुकराज पाण्डेले जानकारी दिए । पहिलोचरणमा १२ जिल्लामा १२ पोखरी निर्माण गरिएको र चालु आवमा अझ विस्तार गरिने उनले बताए।
विज्ञहरुले जलवायु परिवर्तन र नदी दोहन, तालतलैयामा माछा मार्ने झालको निश्चित मापदण्ड कार्यान्वयन नहुँदा संरक्षणमा चुनौती बढेकोे बताइरहेका बेलामा प्रदेश सरकार र यहाँका स्थानीय पालिकाले संरक्षण संगै जलपर्यटनका कार्यक्रमलाई अगाडि बढाएका छन् ।
बुटवल उपहानगरपालिकाले एक वन एक पोखरी अभियान सुरु गरेको छ । यसैलाई प्रदेश सरकारले विस्तार गरेको हो । यस्तै सैनामैना नगरपालिकाले लामीरहमा बहुउद्देश्यीय जलासययुक्त पार्क निर्माणको काम अगाडि बढाएको छ । यस्ले सैनामैनासहित छिमेकका कैयन पालिकाहरुमा सिमसार क्षेत्र संरक्षण र पानीको रिचार्ज गर्ने चक्रलाई टेवा पु¥याउने विज्ञहरुले बताइसकेका छन् ।
बुटवल उपमहानगरपालिकाले ‘एक वन एक पोखरी’ कार्यक्रमलाई नीति तथा कार्यक्रम र बजेटमै व्यवस्था गरेर गत वर्षदेखि नै सञ्चालन गर्दै आएको थियो । यस्लाई प्रदेश सरकारले पनि सहकार्य गरेपछि अझ प्रभावकारी बनेको छ । बुटवल उपमहानगरले यहाँका सबै सामुदायिक वनहरुमा कम्तिमा एक/एक वटा पोखरी निर्माण गर्ने छ ।
हाल आठ वटा वन र नासिँदै गएका दुईवटा सिमसार क्षेत्रलाई संरक्षण गरि पोखरी निर्माण गरेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए । जलवायु परिवर्तनले नकारात्मक असर पारेको र पानीका स्रोतहरु पनि सुक्दै गइरहेकाले त्यसलाई सुधार गरि वातावरण संरक्षणका लागि पोखरी निर्माण अभियान सुरु गरिएको प्रमुख सुवेदीले बताए।
पोखरीका कारण त्यसभन्दा तलका स्थानमा पानीको मुलमा सुधार ल्याउने र सिमसार बन्दै हरियाली वातावरणले सुन्दरतासमेत बढाउने लक्ष्य राखिएको छ । सिमसार क्षेत्रको संरक्षण र जमिन मुनीका पानीका प्राकृत्तिक स्रोतको संरक्षणमा यो कार्यक्रमले महत्वपूर्ण टेवा पुराउने भएकाले यस्लाई चालु आवमा पनि निरन्तरता दिइने प्रमुख सुवेदीको भनाइ छ ।
वातावरण तथा पर्यावरणको क्षेत्रका विशेष जानकारसमेत रहेका बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले पानीका प्राकृत्तिक स्रोतको संरक्षणलाई पहिलो प्राथमिकता दिइएको बताए । हालका स्थानीय पालिकाहरुमा लागु रहेको वातावरण दिग्दर्शन बनाउने कामको नेतृत्वसमेत गरेका शर्माले यसक्षेत्रमा पानीका प्राकृत्तिक स्रोतहरुकोे कमजोर अवस्था रहेकाले यसखालको कार्यक्रमको अपरिहार्यता रहेको बताए ।
बुटवलमा हालसम्म चारपाला, शिवनगर, बुटवल, चुरे, जितेश्वरी, रामनगर र तिनाउखोला नियन्त्रण सामुदायिक वनमा पोखरी निर्माण भइसकेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । बुटवल–१२ को चारपाला सामुदायिक वन, वडा नं. १० को शिवनगर सामुदायिक वनमा हालसम्म तीन/तीन वटा पोखरी निर्माण भइसकेका छन् भने अरु वनहरुमा निर्माणको कार्य तीव्र पारिएको छ ।
खोला र नदीमा ढल मिसाउने प्रवृत्ति बढिरहेको भन्दै संरक्षणकर्ताहरुको गुनासो बढिरहेका बेलामा सैनामैना नगरपालिकामा भने नमुना काम भएको छ । सैनामैनाले ढलको पानी प्रशोधन गरेर मात्रै नदीमा छाड्ने नौलो काम गरेको छ । सैनामैनाले वडा नं. ३ र ४ मा ढलको पानीलाई प्रशोधन गरेर पुनःप्रयोग गर्न मिल्नेगरि नदीमा मिसाइएको सैनामैनाका प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए ।
उनले पहिलो चरणमा दुईवडामा यो काम सफलतापूर्वक सम्पन्न भएको भन्दै अरु वडामा पनि विस्तार गरिने बतााए। सैनामैनाले त्यहाँको खानेपानी उपभोक्ता समूहसंग सहकार्य गरेर ठूलो बस्ती रहेका वडा नं. ३ र त्यसपछि वडा नं. ४ मा यो नमुना काम पूरा गरेको छ । मानवीय क्रियाकलापकै कारण सिमसार क्षेत्र खुम्चिँदै गएको र यसले गर्दा दुर्लभ वन्यजन्तुसमेत लोभ हुने अवस्थामा पुगेको गुनासो आएपछि जनप्रतिनिधिका रुपमा चुनिएलगत्तै यस विषयलाई चासोका साथ अगाडि बढाइएको प्रमुख कार्कीको भनाइ छ ।
घमाहा खोलामा मिसाइएको प्रशोधित पानीलाई कपडा धुन र पशुपन्छीलाई खुवाउनसमेत मिल्ने अवस्थाको रहेको भन्दै विज्ञहरुले परीक्षणपछि प्रतिवेदनसमेत दिएको प्रमुख कार्कीले बताए । बुटवलमा सुखौरा खोलालाई चुरेबाट उम्रिएर सहरको बीचबाट बग्दै गएको महत्वपूर्ण खोला मानिन्छ ।
तर, यो अतिक्रमण र प्रदुर्षणको चपेटामा परेको छ । खोला मिचेर घरटहरा बनाउने, ढलको पानी खोलामै खसाउनेजस्ता अपराधपूर्ण प्रवृत्ति रोकिएका छैनन् । यसलाई नियन्त्रण गर्दै जलपर्यटनको एउटा क्षेत्रका रुपमा विकास गर्नेगरि बुटवल उपमहानगरपालिकाले गुरुयोजना बनाइरहेको छ । गुरुयोजनाका लागि सर्भेक्षण र फिल्ड अध्यय्न पूरा भएर अहिले दोस्रो चरणको काम अगाडि बढेको उपमहानगरपालिकाका शहरी विकास महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए । सुखौरा खोलामा ढल मिसाएका, सिमाना मिचेका घरटहराहरुको विवरण संकलन भएको जानकारी दिंदै उनले एकचरणमा समुदायसंग छलफलसमेत गरिएको बताए ।
मुलुकका कुनै पनि नगरको हरियाली क्षेत्रमा बुटवलको हरियाली सबैभन्दा धेरै रहेको पाइएको छ । गत वर्ष एक अन्तर्राष्ट्रिय संस्थाले गरेको अध्यय्नको निश्कर्षमा बुटवलको हरियाली ५३ प्रतिशत भन्दा माथि रहेको पाइएको हो । यद्यपि यहाँको जमिन मुनीका पानीको सतह भने कमजोर अवस्थामा पाइएको छ । त्यसैलाई विस्तार गर्न एक वन एक पोखरी निर्माणको कार्यक्रम अगाडि बढाइएको बुटवलका प्रवक्ता रेग्मीले बताए ।
पर्यावरणमैत्री नमुना कामलाई विस्तार गर्नुपर्छ : विज्ञ
पानीका प्राकृत्तिक स्रोतहरु नासिने र मासिने प्रवृत्ति बढ्दै गइरहेका बेलामा प्रदेश सरकार र स्थानीय तहले सुरु गरेको नमुना कामको विज्ञहरुले प्रसंशा गरेका छन् ।
उनीहरुले यसलाई विस्तार गर्नुपर्नेमा जोड दिंदै आएका छन् । विकास पूर्वाधार निर्माणमा अदूरदर्शिता र अव्यवस्थालाई अन्त्य गर्ने प्रयास भएको उनीहरुको टिप्पणी छ ।
वातावरणविद् डा.ईन्जिनियर खेटराज दाहालले ‘एक वन एक पोखरी’ को नीति पर्यावरणमैत्री रहेको बताए । सरकारले सुरु गरेको अभियानलाई बुटवलले व्यवहारमै उतारेर नमुना कामको थालनी गरेको भन्दै उनले प्रशंसा गर्दै विस्तार गर्न आग्रह गरे ।
वातावरण तथा पर्यावरणको क्षेत्रमा लामोसमयदेखि कलम चलाउँदै आएका विश्लेषक युवराज कंडेलले वन बिनास, जलवायू परिवर्तन, सुख्खा खडेरी तथा विना प्राविधिक इस्टीमेट खनिएका सडकका कारण भूमिगत मुहान सुक्ने र दबिने क्रमले खानेपानी समस्या बढिरहेका बेलामा वन र गाउँगाउँमा पोखरी निर्माण अभियान नमुना काम रहेको टिप्पणी गरे ।