कपिलवस्तु । लामो समय विवादमा रहेको शिवराज नगरपालिका भवन शिलन्यास भएको छ । नगरपालिकाको आफ्नै भवन नहुँदा बहालमा बसेर नगरको काम कार्बाही गर्दै आएको नगरपालिकाको अब आफ्नै भवन बन्ने भएको छ ।
बिहिबार नगर प्रमुख नेत्रराज अधिकारीले भवनको विधिवत शिलन्यास गरे । शिवराज नगरपालिका ५ रहटकोल गाउँमा रहेको सार्वजनिक जग्गामा बन्न लागेको उक्त भवन निर्माणमा स्थानीयले विरोध गर्दै आएका थिए ।
विकासको काम अघि बढेको भन्दै भवन निर्माण पश्चात स्थानीयहरुलाई सहज हुने नगरप्रमुख अधिकारीले विश्वास व्यक्त गरे । भवनलाई आर्कषक र मजबुत बनाउने योजना स्वरुप नगरपालिकाले विभिन्न समयमा अनुगमन गरिने जनाए । अहिले भाडामा रहेको कार्यालयबाट सेवा प्रदान गर्न समस्या भइरहेको र कर्मचारीहरुको बसाईमा समेत समस्या रहेको प्रमुख अधिकारीले बताए ।
‘अहिले नगरपालिकाका विभिन्न वडा कार्यालयको समेत भवन निर्माण गरिरहेका छौ नगरको भवन निर्माण सकिँदासम्म सवै वडाको भवन निर्माण पनि सम्पन्न हुन्छ’–अधिकारीले भने ।
आम नागरिकहरुलाई पहुँच र सेवा प्रभावमा सहजता होस् भन्ने उद्देश्यले भवन निर्माण गर्न सुरु भएको नगर प्रमुख नेत्रराज अधिकारीले बताए । ११ करोडको लागतमा निर्माण हुने भवन २ वर्षमा सम्पन्न हुनेछ । भवन निमार्णको लागि गत बर्ष असारमा नै कैलाश एण्ड कम्पनी सग सम्झौता भएपनि अदालतमा मुद्धा परेपछि काम हुन सकेको थिएन ।