बुटवल–प्रदेश र केही स्थानीय सरकारहरुले समेत एक गाउँ एक पोखरीको अवधारणा अनुरुप पोखरी निर्माण गरिरहेका बेला रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भएको पोखरी मासेर भौतिक संरचना बनाउँदै छ ।
सार्वजनिक तालतलैया तथा पोखरी संरक्षणको दायित्व स्थानीय सरकारको हो । तर तिलोत्तमा नगरपालिकाले नमूना काम देखाउने लहडमा वडा नं ११ को सार्वजनिक पोखरी माथि पिल्लर उठाएर वडा कार्यालय बनाउन लागेको हो ।
तिलोत्तमा ११ स्थित मन्द्रहानी गाँउको बिच भागमा रहेको पोखरी १७ कठ्ठा क्षेत्रफलमा फैलिएको छ ।
स्थानीय ७३ वर्षे झलक शर्माका अनुसार तीन दशक अघि सम्म यो पोखरी अहिले भन्दा दोब्बर ठूलो थियो । बढ्दो आवादीसँगै पोखरी अतिक्रमणमा पर्यो । झण्डै २ बिगाहमा फैलिएको पोखरी १६/१७ कठ्ठामा खुम्चियो । त्यही साघुरिएको पोखरीमा स्थानीय सरकारले पिल्लर उठाएर पोखरी माथि भवन बनाउदै छ ।
यसअघि स्थानीय र तत्कालिन गाविसको सक्रियतामा संरक्षण गरिएको पोखरी अतिक्रमण नगर्न पटक पटक आग्रह गरिएपनि वडाध्यक्ष र नगर प्रमुखले स्थनीयको मागलाई वेवास्ता गरेको वडाबासी नविनराज आर्चायले बताए ।
वडाध्यक्ष मुक्तिनारायण चौधरीले घुमाउरो भाषामा वडा कार्यालय पोखरीमै बनाउनु बाध्यता भएको सुनाए । ‘मेरो योजना पोखरीलाई सिगारेर पर्यटकीय क्षेत्र बनाउने थियो । तर पछि पोखरी माथि नमुना भवन बनाउँ भन्ने प्रस्ताव आएपछि स्वीकारेको हुँ’–चौधरीले भने ।
पोखरी देखि करिब ५०मिटर दुरीको सार्वजनिक जग्गामा भवन बनाउन आफुले प्रस्ताव गरेपनि इन्जिनियरले जग्गा उपयुक्त नभएको बहाना बनाएपछि पोखरीलाइ विकल्पका रुपमा सारिएको चौधरीको भनाइ छ ।
‘मैले प्रस्ताव गरेको जग्गामा स्वास्थ्य चौकीको भवन बन्दैछ । ‘जग्गाको चौडाइ नपुगे दुई तले बनाउँ, पार्किङ, शौचालयका लागि अगाडि प्रशस्त जग्गा छ भन्दा पनि इन्जिनियरले मानेनन्–वडाध्यक्ष चौधरीले भने ।
नगरपालिकाका योजना प्रमुख इन्जिनियर प्रदिप वनले भने जनप्रतिनिधिको निर्देशन बिना आफुले कुनैपनि काम गर्न नसक्ने बताए । ‘इन्जिनियरिङ्गको पाटोबाट वस्तुस्थितिबारे यर्थाथ जानकारी गराउने हो । मुख्य निर्णय नगरप्रमुख तथा जनप्रतिनिधिहरुकै हो’–वनले भने । वडाध्यक्षले प्रस्ताव गरेको जग्गामा दुवै तर्फ कुलो परेकाले सकेसम्म अन्यत्र बनाउन उपयुक्त हुने सल्लाह मात्रै दिएको उनले बताए ।
नगरपालिकाका प्रमुख वाशुदेव घिमिरेले यसलाइ नमूना भवनको रुपमा अथ्र्याए । ‘नेपालकै पहिलो नमुना भवन बनाउदै छौं, माथि सेवा भवन र तल पोखरी हुने छ । जहाँ बोटिङ, चिल्ड्रेन र्पाक, फुल बिरुवा सहितको हरियाली बनाउने योजना छ’ –नगरप्रमुख घिमिरेले भने ।
उनका अनुसार गतवर्ष पोखरी संरक्षणका लागि ५० लाख खर्च गरेर रिटेनिङ वाल लगाइयो । यसपालि १ करोड २५ लाख खर्च गरेर पाँच कोठे सेवा भवन बन्नेछ । भवनमा पुग्न १५ फुटको पुल बन्ने छ । शौचालयको सेफ्टी ट्याङ्की पोखरीकै डिलमा बनाइने इन्जिनियर वनले बताए ।
पोखरी माथि बनाइने भवनले पोखरीलाइ कुनै असर नगर्ने बरु पर्यटकीय अकर्षण बढने नगरप्रमुखको दाबी छ ।
तर स्थानीयले भने वडा भवनमा काम लिएर आउनेहरुको भिड हेर्न कोही पनि पर्यटक नआउने बताउँछन ।
‘पर्यटक तान्न शान्त, प्राकृतिक र रमणिय स्थल चाहिन्छ । वडा कार्यालयको भिडभाडमा हेर्न आन्तरिक पर्यटक आउछन् भनेर प्रचार गर्नु बेकार हो’–नविनराज आर्चायले भने ।
अर्का स्थानीय तेजबहादुर कुँवरले वडामा प्रशस्त सरकारी जग्गा हुँदाहँदै नमुना बन्ने लहडमा पोखरीमै आँखा गाडेको आरोप लगाए ।
‘हामीले धेरै पटक वडाध्यक्षलाइ भन्यौं । अनुरोध पनि गर्यौ तर सुनुवाइ नै हुँदैन’ कुँवरले भने ।
पोखरीको बिचमा वडा भवनको साटो मन्दिर या आकर्षक संरचना बनाएर ग्रामिण पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नु पर्नेमा उनले जोड दिए । नगरप्रमुख घिमिरेले भने कसैले विरोध गर्दैमा केही फरक नपर्ने प्रतिक्रिया दिए ।
यो पोखरी नजिकै महारानी मायादेवी र प्रजापतिका मूर्ति सहितको मन्दिर तथा बुद्धकालीन कुवा पनि रहेकाले त्यससँगै जोडेर ग्रामिण पर्यटन विकासको योजना बनाउन आग्रह गर्दागर्दै नगरपालिकाले आफ्ना केही नेता कार्यकर्ताको स्वार्थमा बाधिएर पोखरी माथि वडा कार्यालय बनाउन थालेको गुनासो स्थानीयले गरेका हुन् ।