बुटवल । लामो गृहकार्यपछि रुपन्देहीको एकमात्र उपमहानगर बुटवललाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरिएको छ । शनिबार एक कार्यक्रम गरी बुटवललार्ई रुपन्देहीमै पहिलो सडक मानवमुक्त उपमहानगर घोषणा गरिएको हो ।
बुटवलउपमहानगरपालिका, सामाजिक बिकास मन्त्रालय, मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त प्रयासबाट सहयोगापेक्षी सडक मानवमुक्त उपमहानगर घोषणा गरिएको हो ।
सो कार्यक्रमको उद्घाटन मानवसेवा आश्रममा बस्दै आएकाहरुलाइ दोसल्ला,माला ओढाएर गरिएको थियो ।मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले घोषणा प्रतिवद्धता पत्र पढेर सुनाएका थिए भने बुटवल उपमहानगरका प्रमुख शिबराज सुबेदीले सहभागि सबैलाई सामूहिक प्रतिवद्धता गराएका थिए ।
बुटवललाइ मानवताको शहर बनाउने अभियान शुरु भएको भन्दै प्रमुख सुबेदीले घोषणाका लागि घोषणा नगरिएको भन्दै कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।
अब बुटवलमा कोही पनि नागरिक गास, बास र कपासका लागि भौतारिने अवस्था नआउने र सडकमा रात बिताउनुनपर्ने उनको भनाइ छ ।घोषणासभामा बोल्दै प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले सडकमा रहेका सहयोगापेक्षीहरुको व्यवस्थापनको दायित्व सरकारको रहेको बताए । उनले देश समृद्ध बन्नका लागि नेपाली सबै समृद्ध हुनुपर्ने बताए ।
अभियान सकारात्मक रहेको भन्दै उनले सबैको सहकार्यमा यसको सहि ब्यबस्थापन र कार्यान्वयन हुनसक्ने बताए । सो अबसरमा प्रदेशका उद्योग पर्यटन तथा वाताबरणमन्त्री लिला गिरिले सकारात्मक कामले सबैलाइ पुण्य मिल्ने बताए । सामाजिक बिकास मन्त्री सुदर्शन बरालले बुटवलमात्रै नभइ अब प्रदेश ५ लाइ नै मागेर खान नपाइने क्षेत्रका रुपमा घोष्णा गरिने बताए ।
उनले सक्षम मानिसपनि मागेर खाने परिपाटी अन्त्य गर्नुपर्ने बताए । कार्यक्रममा प्रदेश ५ का प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, फकरुद्धिन खांन,सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा,जिल्ला समन्वय समितिका संयोजक एकराज बिक,उपमहानगरपालिकाका उपप्रमुख गोमादेबी आचार्य,मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारी,आश्रमका प्रदेश ५ की प्रमुख रुपा केसी, लगायतले बोल्दै यो अभियानलाइ सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा अभियानमा सहयोग गर्ने ५ जना अभियानकर्तालाइ सम्मान समेत गरिएको थियो । कार्यक्रमअघि बुटवल बहुमुखी क्याम्पसबाट बाजागाजा सहितको ¥याली निकालेर उपमहानगर कार्यालयमा आई घोषणा सभामा परिणत भएको थियो ।