बुटवल-शीतलहर र हुस्सुका कारण भिजिविलिटी नपुगेपछि भैरहवा विमानस्थलमा उडान प्रभावित भएको छ। भैरहवा विमानस्थलका अनुसार सामान्यतया ११ वटा विमान काठमाडौंबाट आउनेजाने गर्नुपर्नेमा बुधबार ३ वटा विमान मात्रै अवतरण गर्न सके भने यति एयरको विमान दिउसो अवतरण गर्न नसकेर काठमाडौं नै फर्किएको छ।
काठमाडौं विमानस्थलमा बिहान ११ बजेदेखि कुरेर दिउसो उडेपछि भैरहवानजिक आएर फेरि काठमाडौं नै फर्काएको बुटवल आउने एक यात्रु नानु शर्माले बताइन्।
भैरहवामा भिजिविलिटी १६०० भएमा मात्रै विमान उडान र अवतरण गर्नसक्ने भएकाले आज बुधबार ३ वटा विमानबाहेक अरु विमान काठमाडौबाट आउन नसकेको विमानस्थलका प्रमुख टेकराज पोखरेलले जानकारी दिए।
उनका अनुसार हिजो मंगलबारदेखि नै शीतलहरका कारण विमान उडान र अवतरण प्रभावित हुन थालेको थियो। 'आज लाइट पुगेमा काठमाडौंबाट केही विमान आउँछन् कि भन्ने हो, उनले भने-यहाँबाट उडान गर्न त सकिरहेकै छैन।'
भिजिविलिटी नपुगी उडान र अवतरणमा कठिनाई हुने उनले बताए। बेलुका ७ बजेसम्म कुनै पनि उडान र अवतरण भएका छैनन्।
तराईमा मंगलबारदेखि हुस्सु र शीतलहर शुरु भएको छ। जसका कारण आम जनजीवन समेत प्रभावित भएको छ।