बुटवल–बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा क्रियाशील ११ वटा संघसंस्थाले मायादेवी मन्दिर परिसर खुल्ला गर्न माग गर्दै ७ दिने अल्टिमेटम दिएका छन् ।
लुम्बिनी विकास कोषलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले मायादेवी मन्दिर परिसर खुल्ला गर्दै लुम्बिनीमा बौद्ध आध्यात्मिक वातावरण तत्काल सुचारु गर्न माग गरेका हुन् ।
लुम्बिनी संरक्षण नागरिक समाज, लुम्बिनी बुद्ध धर्म संरक्षण समिति, लुम्बिनी होटल संघ नेपाल, लुम्बिनी पर्यटन व्यवसायी संघ, उद्योग व्यापार संगठन रुपन्देही, सिद्धार्थ होटल संघ नेपाल, मायादेबी आमा समुह, बौद्ध युवा संघ लुम्बिनी, रिक्सा व्यवसायी संघ लुम्बिनी, ट्याक्सी व्यवसायी संघ र होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठनले संयुक्त रुपमा ज्ञापन पत्र बुझाउँदै ७ दिन भित्र लुम्बिनी खुल्ला गर्न आवश्यक व्यवस्था नमिलाइए जस्तो सुकै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
लुम्बिनी खोल्न आफूहरुले गरेको पटक पटकको अनुरोध कोषले बेवास्ता गरेको संघसंस्थाहरुको आरोप छ ।
‘बौद्धमार्गी, स्थानिय नागरिक समाज र पर्यटन व्यवसायीहरुले लुम्बिनी खुला गर्न कहिले सम्म पर्खिनुपर्ने हो ?’ ज्ञापनपत्र मार्फत उनीहरुले प्रश्न गर्दै भने ‘लुम्बिनी विकास कोष र सम्बन्धीत पदमा आसिनहरुले कस्तो दबाब र आन्दोलन खोजेको हो ?’ ज्ञापन पत्रलाई चेतावनीको पत्रको रुपमा बुझ्न भन्दै संघसंस्थाहरुले ठूला र अप्रिय आन्दोलनमा जान बाध्य नतुल्याइयोस भनि आक्रोश व्यक्त गरेका छन् ।
कोरोना संक्रमणका कारण चैत्र ११ गतेको लकडाउन सुरु भएसँगै सरकारले देशभरका मठ मन्दिरमा धार्मिक गतिविधि गर्न रोक लगाएको थियो ।
त्यससँगै लुम्बिनीमा पनि अध्यात्मीक गतिविधिमा र प्रवेशमा रोक लगाइएको थियो ।
लकडाउन र निषेधाज्ञा हटेपछि अरु व्यवसाय गतिविधि सुचारु भएको छ । तर लुम्बिनी लगायतका स्थानहरुमा धार्मीक गतिविधि गर्न फूकुवा भएको छैन ।
लुम्बिनीका स्थानिय, भिक्षु भिक्षुणी र पर्यटन व्यवसायी लगायतले लुम्बिनी परिसर खोल्न र अध्यात्मीक वातावरण सुचारु गर्न पटक पटक माग गर्दै आएका थिए ।
उनीहरुले कोभिडको जोखिमबारे कोष मात्र नभई आफूहरु पनि सचेत भएको सावधानी अपनाउन तयार भएको बताएका छन् ।
‘लुम्बिनी नेपालका अरु धेरै धार्मिक स्थल भन्दा खुल्ला र फराकिलो छ । सामाजिक दुरीलाई कायम राख्दै धार्मिक तथा अध्यात्मीक गतिविधि गर्न सहज छ ।
यतिहुँदा हुँदै पनि ८ महिना भन्दा लामो समयदेखि लुम्बिनीलाई ठप्प तुल्याइएको छ ।’ ज्ञापन पत्रमा उनीहरुले भनेका छन् । लुम्बिनी होटल संघका महासचिव लीलामणी शर्माले सुरक्षाका उपाय अपनाएर आफूहरुले सेवा दिन तयार रहेको बताए ।
औपचारिक रुपमा लुम्बिनी परिसर खुल्ला नभएपनि मायादेवी मन्दिर परिसर र केही विहार क्षेत्र बाहेकमा अवलोकनकर्ताहरु घुमघाम गरेका छन् । लुम्बिनी विकास कोषले नेपाल सरकारले निर्णय गरेमा आफूले मायादेबी मन्दिर खुल्ला गर्न तयार भएको बताएको छ ।