बुटवल-बस व्यवसायीहरुले लामो दुरीमा यातायात सञ्चालन गर्न केही समय लाग्ने बताएका छन्। पश्चिम क्षेत्रकै धेरै व्यवसायीहरु आवद्ध रहेको पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलले असोज ५ गतेदेखि मात्रै लामो दुरीमा गाडी चलाउने गरी तयारी थालेको छ।
बस व्यवसायी प्रालिको आज बुधबार रुट समितिसहित बसेको बैठकले गाडी मर्मत तथा कर्मचारी व्यवस्थापनको काम थाल्न सबै व्यवसायीहरुलाई अनुरोध गर्ने निर्णय गरेको प्रालिका वरिष्ठ उपाध्यक्ष नारायण घिमिरेले बताए।
'असोज १ गतेदेखि देशभर खुला गर्ने भनेर हामीले तयारी गरेका थियौं तर केही व्यवस्थापन गर्नुपर्ने भएकाले हामीले लामो दुरीका गाडी असोज ५ गतेदेखि चलाउने निर्णय आज गरेका छौं-उनले बैठकका निर्णयबारे भने-असोज १ गते विश्वकर्मा पूजा भएकाले गाडी चल्दैनन्, २ गतेदेखि केही गाडीहरु छोटो दुरीमा चल्छन्।'
उनले रुट समितिदेखि गाडीमा रहने कर्मचारीसम्मलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गाडी तयारी अवस्थामा राख्न आग्रह गरेको बताए।
'अब स्वास्थ्य सुरक्षाका हिसाबले गाडीमा रहेका सिट क्षमताभन्दा आधामात्रै यात्रु सवार हुनसक्ने भएकाले गाडी पनि सबैतिर जानसक्ने अवस्था छैन-उनले भने-बुकिङ काउन्टरमा पनि कसरी सुरक्षित बनाउने र यात्रुलाई सेवा दिने भन्ने तयारी पूरा गर्दैछौं।' पश्चिम नेपाल बस व्यवसायी प्रालिमा करीब १ हजार बस व्यवसायी आवद्ध छन्।