काठमाडौँ –सरकारले असोज १ गते (पर्सी)देखि नै लामो दूरीको सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्ले बुधबारदेखि लामो दूरीका सवारी साधन खोल्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।
लामो तथा सार्वजनिक यातायातले कोरोना महामारीबाट बच्न आवश्यक सजगता अनिवार्य रुपमा अपनाउनुपर्नेछ। ज्ञवालीका अनुसार भौतिक दूरी कायम हुने गरी एक सिटमा एकजना मात्र बस्न पाउनेछन्।
उभिएर आवत जावत गर्न नपाउने, ढोकामा अनिवार्य स्यानिटाइटर राख्नुपर्ने, चालक र सहचालकसहित यात्रुले अनिवार्य रुपमा मास्क र पन्जा लगाउनुपर्ने छ।
सरकारले तोकिएको भाडामा अधिकतम ५० प्रतिशत बढीसम्म भाडा लिन पाउनेछन्। सरकारले सीमा नाका असोज ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। भदौ ३१ गतेसम्म रोक लगाइएको सीमा नाकालाई थप एक महिना बन्द गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद्को बैठकले गरेको हो।
सरकारले नेपाल भारतबाट नेपाल प्रवेश गर्ने थप दुईवटा नाका खुला गर्ने निर्णय पनि गरेको छ। इलामाको पशुपतिनगर र दार्चुलाका दुई नाका थपेर १२ वटा खुला गरिएको छ। त्यस्तै चीनतर्फको रसुवागढी नाका पनि खुला गर्ने निर्णय गरेको छ।
यस्तै सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा डा युवराज खतिवडालाई नियुक्त गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज यही भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मन्त्रिस्तरीय सुविधा पाउने गरी पूर्वअर्थमन्त्री डा खतिवडालाई सल्लाहकारमा नियुक्त गरिएको जानकारी दिए।
यसअघि डा खतिवडा सञ्चार तथा सूचनामन्त्री पनि रहेका थिए। संवैधानिक व्यवस्थानुसार उहाँको यही भदौ २० गतेदेखि पदावधि सकिएको थियो।