भैरहवा-रुपन्देहीमा जारी निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्दै केही खुकुलो बनाइने भएको छ। शुक्रबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न गठित जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) रुपन्देहीको बैठकले निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय गरेको हो।
उद्योगी व्यवसायीले माग गरेअनुसार निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्ने निर्णय बैठकले गरेको प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिए। आज शनिबार रातीसम्म निषेधाज्ञाकै अवधि कायम रहने भएकाले आज शनिबार जिल्ला सुरक्षा समितिको बैठक बसेर कुन मोडालिटीमा खुला गर्ने भन्ने निर्णय हुने उनले बताए।
शुक्रबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा डिसिसिएमसी रुपन्देहीका संयोजक तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थको अध्यक्षतामा बसेको बैठकले १ हप्ताका लागि नयाँ मोडालिटीमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
शुक्रबार बसेको बैठकमा व्यवसायीहरुले सुरक्षाका सबै मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता जनाएको र त्यसका लागि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा स्थानीय तहस्तरमै अनुगमन समिति बनाउने निर्णय पनि भएको छ। जसले सुरक्षाका मापदण्ड अपनाए/नअपनाएको अनुगमन गरेर कारबाही गर्नसक्नेछ।
आइतबारदेखि रुपन्देहीमा निषेधाज्ञाको कस्तो मोडालिटी अपनाउने भन्ने आदेश शनिबार जारी हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी जनक थापाले जानकारी दिए।
शुक्रबार भएको छलफल अनुसार रुपन्देहीमा बैंक तथा वित्तिय संस्थाहरु खुल्नेछन् भने बजार पनि समय निर्धारण गरेर खुल्नेछ। रुपन्देहीमा ६ सय भन्दा बढी सक्रिय संक्रमित रहेकाले निषेधाज्ञा खुलेपछि सावधानी नअपनाए संक्रमण अरु फैलिने जोखिम उच्च छ।