बुटवल-प्रदेश ५ मा ५ हजार ६२ जना कोरोना भाइरसका संक्रमित निको भएर घर फर्किएका छन्। कोरोनाका कारण प्रदेशमा ३२ जनाले ज्यानको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
प्रदेश ५ सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार ४५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा कपिलवस्तुमा ११, पाल्पामा १, बाँकेमा ९, गुल्मीमा १०, अर्घाखाँचीमा १, रुपन्देहीमा ९, बर्दियामा २ र पश्चिम नवलपरासीमा २ जना नयाँ संक्रमित थपिएका हुन्। जसमा ३१ जना पुरुष र १४ जना महिला छन्।
योसँगै प्रदेशमा कुल संक्रमितको संख्या ६ हजार ६१५ पुगेको छ। १ हजार ४७३ जना सक्रिय संक्रमित विभिन्न अस्पताल र आइसोलेशनमा उपचाररत रहेको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए। उनका अनुसार संक्रमितमध्ये करिब १५ प्रतिशत संक्रमितमा लक्षण देखा परेको छ।
प्रदेश सरकारद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा लक्षणसहितका र गम्भीर बिरामी ११३ जनाको उपचार भइरहेको डा. पौडेलले जानकारी दिए।
जसअनुसार लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पताल धागो कारखानामा सामान्य कक्षमा २० जनाले उपचार गराइरहेका छन् भने १५ जनाको आईसीयू र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यस्तै, भीम अस्पताल भैरहवामा २१ जनाको सामान्य र ४ जनाको आईसीयूमा उपाचार भइरहेको छ।
केन्द्रीय आयुर्वेद विद्यापीठ, बेलझुण्डी दाङमा ३२ जना संक्रमितको सामान्य कक्षमा र १ जनाको आइसीयूमा उपचार जारी छ। सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेमा ४० जना सामान्य उपचार कक्षमा उपचाररत छन्।
प्रदेश सरकारले सञ्चालन गरेका विभिन्न ठाउँका १३७ वटा आइसोलेसन सेन्टरमा लक्षणविहीन १ हजार २६३ जना संक्रमितलाई राखिएको उनले जानकारी दिए।