बुटवल-बुटवलमा थप ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका २४ जनाको स्वाब संकलन गरेर पीसीआरका लागि पठाइएकोमा १९ जनाको परीक्षणमा ११ जनाको रिपोर्ट पोजेटिभ आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए। उनीहरु सबै पुरुष हुन्।
बाँकीको रिपोर्ट आएको छैन। लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टअनुसार संक्रमण देखिनेहरु प्रहरी जवानदेखि अधिकृतसम्मका रहेका छन्। प्रहरी कार्यालयका अरु ६ जनामा लक्षण देखिएपछि उनीहरुलाई क्वारेन्टिनमा राखिएको उनले बताए। संक्रमण देखिएकाहरु बुटवल उपमहानगरपालिकाको कोरिया नेपाल टेक्निकल इन्स्टिच्युटको आइसोलेशनमा छन्।
१५० भन्दा बढी प्रहरी रहेको इलाका प्रहरी कार्यालयमा संक्रमितको संख्या ३० पुगेको छ। यसअघि १० भदौमा १५ थुनुवा र ४ जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो।
थुनुवा र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा आएका र लक्षण देखिएका प्रहरीमा गरिएको परीक्षणमा सोमबार थप ११ जनामा कोरोना पुष्टि भएको हो। अरु केही प्रहरीमा पनि कोरोना भाइरसको संक्रमणपछि देखिने लक्षण देखिएका छन्।