भैरहवा–आइतबार रुपन्देहीमा ९६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याब सञ्चालन भएपछिका छुटेका ८० जना तथा पछिल्लो २४ घण्टामा रुपन्देहीमा थपिएका ४ पालिकाका १६ जनामा संक्रमण पुष्टि भएका स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ।
‘लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याब सञ्चालन भएसँगै पोजिटिभ देखिएका संक्रमितहरुको रिर्पोट स्वास्थ्य कार्यालयमा रिर्पोटिङ भएको थिएन, आज मात्रै ल्याबले जिल्लामा संक्रमितहरुको तथ्याङक पठाएकोले जिल्लामा ९६ जना कोभिड संक्रमित थपिन गएको हो’–स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले लुम्बिनी टाइम्सलाई जानकारी दिए।
बुटवलको ल्याबमा विभिन्न समयमा पोजिटिभ देखिएका संक्रमित पुरानै हुन् भने पछिल्लो २४ घण्टाका सबैभन्दा बढी सैनामैनामा ९ जना पुरुषमा संक्रमण देखिएको छ।
त्यस्तै बुटवल उपमहानगरमा ४ जना, सिद्धार्थनगरमा २ जना, तिलोत्तमामा थप १ जनामा संक्रमण पुष्टि भएको भेक्टर कन्ट्रोल निरीक्षक शाहले बताए। तर बुटवल उपमहागरपालिकाले बुटवलमा २० जनामा संक्रमण भएको बताएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालको ल्याब र र नेशनल प्याथ ल्याबबाट आएको रिर्पोट अनुसार १ महिला र १५ पुरुषमा संक्रमण देखिएको छ।
थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या ९ सय ७६ पुगेको छ भने मृतकको संख्या ८ पुगेको छ। जिल्लामा ३८२ जना निको भएर फर्किसकेका छन, ५८६ जना सक्रिय संक्रमित उपचाररत छन्।