काठमाडौं-राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार साँझ निधन भएको छ। १०१ वर्षका उमेरमा उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेट उनकै लैनचौरस्थित निवासमा निधन भएको परिवारका एक सदस्यले बताए।
उनी गत असोजमा १०१ वर्ष पूरा भएर १०२ वर्ष लागेका थिए। १९७६ असोज ७ गते जन्मिएका उनी स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्।
उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा हुन्।
प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उनका लेखाइहरु दीर्घसाधनाले भरिएका छन्।
उनले वि.सं. १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाएका थिए। उनका नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्नर-किन्नरी (वि.सं. २०३३) जस्ता कवितासङ्ग्रह सङ्कलित छन्।