बुटवल–अर्घाखाँची र प्युठान जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेपछि 'लकडाउन' गरिएको छ।
स्थानीय प्रशासनले आउँदै गरेको तीजमा हुनसक्ने सार्वजनिक कार्यक्रमका कारण थप जोखिम निम्तिन सक्ने ठहर गर्दै अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेका छन्।
जिल्लाभित्रका आन्तरिक यातायातलाई कडाई गरेपनि राजमार्गहरुमा चल्ने गाडीलाई भने नरोक्ने जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् ।
अर्घाखाँचीमा भदौ ३ गते बिहान ६ बजेदेखि भदौ १० गतेसम्म 'लकडाउन' गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।
लकडाउनको समयमा अर्घाखाँचीमा औषधि, खाद्यवस्तु, स्वास्थ्य उपकरण, पानी, दुध र इन्धनलगायतका अत्यावश्यकबाहेकका सबै क्षेत्र बन्द हुने छन् । सो अवधिमा सर्वसाधारण घरबाट बाहिर निस्किन नपाउने प्रशासन कार्यालयको सूचनामा उल्लेख छ।
प्युठानमा मंगलवार राती १२ बजेदेखि 'लकडाउन' गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए।
अत्यावश्यक यातायातका साधन र क्षेत्रबाहेक सबै बन्द गर्ने निर्णय भएको उनले बताए। सो अवधिमा कसैले नियम पालना नगरेमा कारबाही गर्ने र बन्द गर्न भनिएका क्षेत्र खुला गरेमा शिल गर्नेसम्मको अधिकार दिइएको उनले बताए।
प्रदेश ५ को तीब्र संक्रमण देखिएको कपिलवस्तुमा निषेधाज्ञा जारी छ भने बाँके, बर्दिया, दाङलगायतका जिल्लामा पनि कडाई गरिएको छ।
रुपन्देहीमा मंगलबार राती १२ बजेदेखि भदौ ७ गते राती १२ बजेसम्मका लागि जिल्ला 'लकडाउन' गरिएको छ।