बुटवल-कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएपछि तिलोत्तमा नगरपालिका रुपन्देहीले पूर्ण लकडाउन गर्ने भएको छ।
सुरक्षा निकाय, राजनीतिक दल, तिलोत्तमा उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, उद्योग–व्यापार संगठनका प्रतिनिधिहरुको समेत उपस्थितिमा आज मंगलबार बिहान बसेको संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को बैठकले एक हप्ता पूर्ण लकडाउन गर्ने निर्णय गरेको तिलोत्तमा नगरपालिकाका प्रेस सल्लाहकार वीपी गौतमले जानकारी दिए।
भदौं ३ गते साँझ ७ बजेदेखि भदौं १० गते साँझ ७ बजेसम्म पूर्ण लकडाउन गर्ने निर्णय भएको हो।
यो अवधिमा दुग्ध डेरी/डिपो बिहान ६ देखि ८ बजेसम्म बाहेक सबै प्रकारका पसल व्यवसाय, उद्योगधन्दा, कलकारखाना, निर्माण कार्य, बैंक, वित्तीय संस्था, सहकारी, सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय, सम्पूर्ण सवारीसाधन तथा साइकल सञ्चालन समेत पूर्णतः बन्द गर्ने निर्णय सिसीएमसी बैठकले गरेको छ।