भैरहवा–रुपन्देहीमा आइतबार रातीसम्म ४९४ जनामा कोरोना संक्रमण देखिएकामध्ये सिद्धार्थनगरका मात्रै ५९ जना छन्। गत सोमबार १८ जना संक्रमित रहेको सिद्धार्थनगरमा एक सातामै ४१ जना बढेर ५९ जनामा संक्रमण देखिएको छ।
एक हप्तामा ३ गुणा संक्रमित बढ्दा पनि संक्रमित कहाँ कस्तो अवस्थामा छन भन्नेबारे सिद्धार्थनगर नगरपालिकालाई जानकारी छैन। नगरपालिका संक्रमित कहाँ छन्, के गरिरहेका छन् भन्नेबारे बेखबर छ।
बुटवल स्थित नेशनल प्याथ ल्याब, प्रादेशिक अस्पताल, प्रादेशिक प्रयोगशाला लगायतबाट जिल्लाभरि देखिएका कोभिड–१९ पोजिटिभको जानकारी स्वास्थ्य कार्यालय रुपन्देहीलाई आउँछ।
रिपोर्टमा संक्रमण देखिएको जानकारी आउनेबित्तिकै स्थानीय तहमा रहेको स्वास्थ्य शाखा र सम्बन्धित निकायलाई तत्काल खबर गर्ने गरेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए।
‘हामीले जानकारी दिएपश्चात पालिकाको स्वास्थ्य टिमले संक्रमितलाई सम्पर्क गरी स्वास्थ्य अवस्था हेरी कहाँ बस्नु पर्ने हो, सम्पर्कमा रहेका व्यक्तिको ट्रेसिङ्ग गर्ने लगायतको काम गर्नु पर्छ,–फोकल पर्सन शाहले लुम्बिनी टाइम्स सँग भने–सरकारी मापदण्ड र नियमअनुसार नै यो काम गर्नुपर्छ।’
पालिकाको स्वास्थ्य टिमले संक्रमितको सबै अपडेट राख्नुपर्ने भएपनि सिद्धार्थनगरका स्वास्थ्य शाखा प्रमुख उमा थापाले नगर क्षेत्रमा रहेको संक्रमितमध्ये ५९ जना कहाँ कुन अवस्थामा छन् भन्नेबारे पूरा जानकारी नै नभएको बताउँछिन्।
लुम्बिनी टाइम्सकर्मीले यसबारे विस्तृत विवरणका लागि सम्पर्क गर्दा उनले भनिन्–‘केही संक्रमित घरमै आइशोलेशनमा छन्, केही बुटवलको एन्फा सेन्टरमा र केहीलाई होटलको आइशोलेशनमा राख्ने हो ।’
आइतबार आएको रिपोर्टअनुसारका संक्रमित सोमबार ५ बजेसम्म पनि कहाँ कस्तो अवस्थामा छन भन्ने बारे स्वास्थ्य शाखालाई जानकारी नै छैन।
‘सबै ठीकै हुनुहुन्छ, हामीसँग सिमित कर्मचारी भएकोले हामीले सम्पर्कमा ल्याई व्यवस्थापन गर्दैछौ’–उनले भनिन्।
भैरहवामा आइतबारसम्म ५९ संक्रमित पुगेका छन्। त्यसमध्ये ४९ जना सक्रिय छन्। जसमध्ये पनि २ जना भारत पुगेका छन्।
भैरहवामा एसबीआइ बैक भैरहवा शाखाका १२ जना, विमानस्थलस्थित हवाई ईन्धन डिपोका ७ जना लगायत ४९ जना सक्रिय संक्रमित छन्। सक्रिय संक्रमितमध्ये २ जना सम्पर्कविहिन थिए। उनीहरु भारतमा रहेको जानकारी उनीहरुले नै गराएका छन्।
सिद्धार्थनगर क्षेत्रमा ४७ जना संक्रमित छन्। तर कुन वडामा कति जना छन् भन्ने यकिन तथ्यांक नगरपालिकासँग छैन। ‘भोलिसम्म पूरा जानकारी आउँछ, म त्यसपछि भन्छु’–उनले भनिन्।