काठमाडौँ । नेपालसँग सिधा हवाई रुट सञ्चालन गर्न पाकिस्तान सरकारले फेरि पहल थालेको छ। नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हासमीले दुई मित्रराष्ट्रको सम्बन्ध थप प्रगाढ बनाउन सिधा हवाई रुटको पहल थालिएको बताउनुभयो।
पत्रकारसँग कुरा गर्दै राजदूत हासमीले सिधा हवाई रुट सञ्चालन गरी व्यापार प्रवर्धन तथा जनसम्बन्ध विस्तार गर्ने विषयमा पहल भइरहेको जानकारी दिनुभयो। पाकिस्तानसँग नेपालले सन् १९६० मा औपचारिक कूटनीतिक सम्बन्ध कायम गरेको हो।
उहाँले दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएको लामो समय भएको स्मरण गर्दै सम्बन्ध थप प्रगाढ बनाउन उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिने औँल्याउनुभयो। उहाँले त्यसका लागि छिट्टै नेपालको संसदीय प्रतिनिधिमण्डलको उच्चस्तरीय भ्रमण पाकिस्तानमा हुने उल्लेख गर्दै उच्चस्तरीय भ्रमणले आपसी सहयोग र मित्रतालाई थप सुदृढ बनाउन सहयोग पु-याउने बताउनुभयो।