काठमाडौं । निर्वाचन आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई मतपरिणाम प्रतिवेदन बुझाउने भएको छ।
आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आज पत्रकार सम्मेलन गर्दै मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम प्रतिवेदन मंसिर २९ गते बिहीबार राष्ट्रपतिलाई बुझाइने बताउनुभयो ।
आयोगले आज प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फको परिणामसमेत घोषणा गरेको छ। दलहरूले चयन गरी पठाएका नाम क्लस्टर मिले वा नमिलेको छानबिन गरी आयोगले समानुपातिक सांसद निर्वाचित भएको घोषणा गरेको हो।
साथै पुस २ मा आयोगले प्रदेश सभा निर्वाचन परिणामसहितको प्रतिवेदन सातै प्रदेश प्रमुखहरूलाई पनि बुझाउने भएको छ। आयोगले निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा पनि प्रकाशित गरिने बताएको छ।
आयोगका अनुसार प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० गरी कूल ८२५ जना निर्वाचित भएका छन्। प्रतिनिधि सभामा १८४ जना पुरूष र ९१ जना महिला निर्वाचित भए भने प्रदेश सभातर्फ ३५० पुरूष र २०० महिला निर्वाचित भएका छन्।
प्रतिनिधि सभा चुनावलाई ८६ दल दर्ता भएका थिए। प्रत्यक्ष चुनावका लागि ६१ दल र समानुपातिकका लागि ४७ दलले भाग लिएका थिए ।