भैरहवा–नेपाल–भारत सीमामा कतिपय ठाउँमा विवाद छ। कतै अतिक्रमणको समस्या छ, कतिपय क्षेत्रमा सीमास्तम्भ गायब छन्।
भारतसँग ५९ दशमलव ७ किमी जोडिएको रुपन्देही जिल्ला हाल प्रदेश ५ को अस्थायी राजधानी समेत हो। रुपन्देहीमा पनि सीमा स्तम्भको समस्या छ। तीनतर्फ नेपालकै सीमाना रहेपनि दक्षिणतर्फको पूरै भाग भारतसँग जोडिएको छ।
रुपन्देहीस्थित नेपाल–भारत सीमामा कुल ४ सय ६ वटा स्तम्भ दुई देशको सीमा छुट्याउने गरी राखिएको हुनुपर्नेमा हाल १ सय ३५ वटा सीमा स्तम्भ मात्र दुरुस्त अवस्थामा रहेको सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरीको तथ्यांकमा पाइएकोे छ।
तथ्यांकअनुसार २६ वटा मूख्य सीमा स्तम्भ, ९ वटा सहायक सीमा स्तम्भ र १ सय वटा साना सीमा स्तम्भ गरी १ सय ३५ वटा सीमा स्तम्भ मात्र दुरुस्त अवस्थामा छन्। ९ वटा मूख्य र २ सय ६२ वटा साना गरी २ सय ७१ वटा सीमा स्तम्भहरु कहाँ कुन अवस्थामा छन् भन्ने बारे न त सीमा सुरक्षा कार्यालयलाई जानकारी छ न त स्थानीय प्रशासनलाई नै।
२०६४ सालमा सीमा सुरक्षा कार्यालय स्थापना भएपनि त्यस अगावैदेखि नै यी सीमा स्तम्भहरुको अवस्थाबारे कार्यालयलाई जानकारी नभएको शसस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेड क्वार्टर रुपन्देही श्रोतले जनाएको छ।
जिल्लाको विभिन्न भागमा रहेका सीमा स्तम्भहरु हराएका छन्। हराउने स्तम्भहरु कुन क्षेत्रका स्तम्भहरु हुन् भन्नेमा पनि जानकारी छैन।
शसस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेड क्वार्टर रुपन्देहीको रिपोर्टअनुसार जिल्लामा २६ वटा मूख्य सीमा स्तम्भ, ९ वटा सहायक र १ सय वटा सानो सीमा स्तम्भहरु मात्र देखिएको छ। यस्तै ९ वटा मूख्य र २ सय ६२ वटा सानो गरी जम्मा २ सय ७१ वटा सीमा स्तम्भ दशगजा क्षेत्रबाट नै गायब भएका छन्। यो रिपोर्ट सशस्त्र प्रहरी कार्यालयले प्रमुख जिल्ला अधिकारीमार्फत संघ सरकारमा पठाएको छ।
सीमाको सुरक्षा तथा अन्य स्थानमा गरी अहिले जिल्लामा १५ वटा शसस्त्र प्रहरी बलको युनिटहरु रहेका छन्। एउटा गण, ४ वटा बोर्डर आउट पोष्ट र ३ वटा गुल्म, ५ वटा सुरक्षा बेस, जिल्ला कमाण्ड पोस्ट, सुख्खा बन्दरगाह र आईसीपी क्याम्प नौडिहवा गरी १५ वटा शसस्त्र प्रहरीकै युनिटहरु छन्। यसका अतिरिक्त प्रायः सबै नाकामा नेपाल प्रहरीको पनि उपस्थिति रहेको छ।
समय–समयमा सीमाबारे अध्ययन गर्ने टोलीले जिल्ला भ्रमण गरेको भएपनि हराएका स्तम्भहरु कुन अवस्थामा छन् भन्ने जानकारी सरकारी अधिकारीसँग छैन। नेपाल भारतको सीमाको मर्चवार क्षेत्रमा रहेको डण्डा नदीले धेरै स्थानमा दुई देशको सीमा छुट्टयाएको छ। कतिपय स्थानमा मूख्य सीमा स्तम्भ नै नदीमा हराएको तथा कतिपय साना सीमा स्तम्भहरु मासिएर गए पनि जिल्लाको अधिकांश स्तम्भ हराएका हुन्।

२०६४ सालदेखि बेपत्ता ती सीमास्तम्भबारे हालसम्म पनि कुनै नतिजा नआएकोले सरकारी पक्षले पनि बेवास्ता गर्दै आएको देखिएको छ। सीमामा राखिएका स्तम्भमध्ये जोर नम्बर स्तम्भ भारत र बिजोर नम्बरको स्तम्भ नेपालले पूनर्निर्माण गर्नुपर्ने प्रावधान भए पनि दुवै देशका निकायले चासो देखाएका छैनन्।
नापी विभागका अनुसार नेपाल–भारत सीमाका आठ हजारभन्दा बढी सीमास्तम्भ नक्सामा अंकित छन्। नेपाल–भारत सीमा सर्वेक्षण नं. ३ टोलीले सन् २०१८ को डिसेम्बर १५ देखि २०१९ को मे २९सम्म नयाँ सीमा स्तम्भ निर्माण गरेको थियो।

रुपन्देही र कपिलवस्तु जिल्लाको सीमा क्षेत्रमा निर्माण गरिएका गरी २ सय ८४ सीमा स्तम्भहरूलाई भैरहवामा दुई देशको दोस्रो संयुक्त बैठकले प्रमाणीकरण गरेका थिए। सीमा सर्वेक्षण प्रमुख उमेश कुमारसहितको टोली २०१५ देखि सीमा क्षेत्रमा सर्वेको काम सुरू गरिएकोमा २०१९ को मे २९ सम्म २ सय ८४ वटा पिल्लर निर्माण गरी प्रमाणीकरण गरेका थिए।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सीमा क्षेत्रमा रहेका स्तम्भहरु नदीहरुले कटान गर्दा हराउने गरेको बताए। उनले सीमा स्तम्भहरु हराएपनि दुवै देशको संयुक्त टोलीले निरिक्षण गरी हराएको ठाउँका सीमा स्तम्भहरु राख्ने काम गरिरहेको बताए।
प्रमुख जिल्ला अधिकारीले हराएको सीमा स्तम्भहरुको खोजी गर्दै सीमामा भए गरेका सबै गतिविधि केन्द्रमा जानकारी गराउने गरेको बताए।
मानिसहरुको पँहुच नहुने ठाँउका सीमा स्तम्भहरु सुरक्षित रहेपनि सडक पुगेको र आवागमन बढी हुने स्थानका सीमा स्तम्भ हराएका र जीर्ण अवस्थामा रहेका छन्।

