काठमाडौं–कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लगाएको लकडाउन आजदेखि हटेको छ।
लकडाउन हटेसँगै चहलपहल बढेको छ। तर, अझै पनि केही प्रतिबन्धहरू कायमै गरिएकाले चैत्र ११ पूर्वकोजस्तो सामान्य अवस्था भने अझै आइसकेको छैन।
लकडाउन अन्त्य भएसंगै निजी सवारी साधनमा लागू भएको जोर–बिजोर प्रणाली अन्त्य भएको छ भने आजदेखि कार्यालयहरू नियमित रूपमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुल्दैछन्।
साउन १५ देखि होटल रेस्टुरेन्ट, ट्रेकिङ व्यवसाय खुल्ने भएका छन्। तर, रेस्टुरेन्टहरुमा पार्टी र जमघट भने गर्न नपाइने सरकारले निर्णय गरेको छ।
यस्तै, विद्यालय तथा कलेजमा हुने नियमित पठन–पाठन, समूहमा हुने खेलकुदका गतिविधि, सिनेमाहल, जीम हल, सैलुन, पुस्तकालय, धार्मिक स्थल लगायतका क्षेत्रहरू पनि बन्द नै रहनेछन्।
यसैगरी भदौ १ गतेदेखि लामो, मध्यम तथा छोटो दूरीका सवारी साधनहरू, आन्तरिक तथा बाह्य उडान, खेलकुदका नियमित प्रशिक्षण तथा विद्यालय तथा कलेजका भर्ना, परीक्षा सञ्चालन, नतिजा प्रकाशन लगायतका गतिविधिहरू स्वास्थ्य सुरक्षा सजगता अपनाएर सञ्चालन गर्ने निर्णय भएको छ।
कोभिड–१९ को जोखिम अझै बाँकी रहेकाले सरकारले विभिन्न सेवा र कार्यमा भने अर्को सूचना नभएसम्म सञ्चालन गर्न नपाउने निर्णय गरेको छ। शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र), सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, मनोरन्जन स्थल, सैलुन, ब्युटीपार्लर तथा स्पा, स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब, समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल र पुस्तकालय, संग्रहालय र चिडियाखाना अर्को सूचना नभएसम्म सञ्चालन गर्न नपाइने भएको हो।
भदौ १ गतेदेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको मापदण्डबमोजिम हुने गरी तोकिएका आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक तथा अन्य उडान गर्न पाइने छ। अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल पनि भदौ १ गतेबाट सञ्चालन गर्न पाइने भएको छ। त्यही दिनबाट विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन गर्न दिने निर्णय सरकारले गरेको छ।
सरकारले सबै प्रकारका सेवा तथा कार्य सञ्चालन गर्दा दुई मिटरको सामाजिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने, पटक–पटक साबुनपानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्नेलगायत जनस्वास्थ्यका सुरक्षा मापदण्ड अनिवार्य रूपमा पालना गरी सेवा र कार्य सञ्चालन गर्न पनि सुझाव दिएको छ।