बुटवल-देशका अधिकांश स्थानमा भारी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश ५, वागमती, प्रदेश २, गण्डकी, सुदुरपश्चिम र कर्णाली प्रदेशका अधिकांश स्थानमा भारी वर्षा भएको छ।
दिउसो वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश २ र प्रदेश १ का केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङगले जानकारी दिए।
मनसुनी न्यूनचापीय रेखा नेपालमै रहेकाले अझै केही दिन झरी पर्ने, तर भोलि बेलुकीदेखि पानी पर्ने क्रम विस्तारै कम हुने उनको भनाइ छ। विशेषगरी कर्णाली प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने क्रम कम हुँदै जाने तर पानी पर्न भने नरोकिने उनले बताए।
मनसुन अझै सक्रिय हुने देखिएकाले देशका विभिन्न ठाउँमा अझै केही दिन झरीको सम्भावना रहेको तर भोलि बेलुकीदेखि तुलनात्मक रुपमा कम पानी पर्ने पूर्वानुमान गरिएको मौसमविद् प्रधानाङ्गले जानकारी दिए।
विशेषगरी बागमती प्रदेश, प्रदेश २, प्रदेश ५, गण्डकी, सुदूरपश्चिम र कर्णालीमा धेरै पानी परिरहेको छ। गएको ६ घण्टामा रुपन्देहीको सूर्यपूरामा मात्रै ६७ दशमलव २ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
लगातार वर्षाका कारण विभिन्न नदीमा ठूलो बाढी आएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणी, तिनाउ, लालबकैया र कोशी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ।
यी नदीमा बाढी आएकाले आज नवलपरासीको सुस्ता, चितवनको सौराहा, रुपन्देही, नवलपरासी, सुनसरी र सप्तरी, गोरखा, लमजुङ, कास्कीका नदी आसपासका क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेको महाशाखाका हाइड्रोलोजिस्ट सुनिल पोख्रेलले जानकारी दिए।
निरन्तरको वर्षाका कारण नारायणी, कोसी, कर्णाली र महाकालीमा पानीको बहाव बढ्ने सम्भावना छ। कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई, तिनाउलगायत नदीले पनि क्षति पुर्याउन सक्ने भएकाले आसपासका बासिन्दालाई सुरक्षित रहन स्थानीय प्रशासनले सचेत गराएका छन्।
मेची, बिरिङ, निन्दा, बक्राहा, लोहन्द्रा, चिसाङखोला, सिंघिया, सुनसरी, बुढी, त्रियुगा, माउली, गगान, खाँडो, रातु, चुरियामाई, लालबकैया, पूर्वी राप्ती, तिनाउ, वाणगंगा, मानखोला, कान्द्रा, मोहना, खुट्टिया, स्याउलीलगायत खोलामा पनि बाढी आउने सम्भावना रहेको महाशाखाले जनाएको छ।