बुटवल-लगातारको वर्षाले सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्डमा ठाउँठाउँमा पहिरो खसेको छ।
सिद्धार्थ राजमार्गको सिद्धबाबा मन्दिर, हेडबक्स, नागमन्दिर, पैठेडाँडा, दोभान, झुम्सा, चर्चरे, कालीमाटी, गौडेपुललगायत दर्जनौं स्थानमा पहिरो खसेको छ। राजमार्ग सुचारु गर्न र खसेका पहिरो पन्छाउन दिनभर लाग्नसक्ने पाल्पाका प्रहरी उपरीक्षक दीपक खरेलले बताए।
तानसेनदेखि गुल्मीका साथै पाल्पाबाट स्याङ्जा, रामपुर हुँदै नवलपरासी जाने सडकमा पनि पहिरो खसेको छ। तानसेनबाट रानीमहल जाने सडकका साथै रम्भा, माथागढी, रैनादेवी छहरा, निस्दी, पूर्वखोला गाउँपालिका केन्द्र जाने सडकमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ। बिहानैदेखि प्रहरीले सडक डिभिजनको समन्वयमा पहिरो खुलाउने प्रयास गरेको जनाएको छ। तर भारी वर्षाका कारण धेरै ठाउँमा पहिरो खसेकाले तत्काल सडक सुचारु गर्न कठिन हुने प्रहरीले बताएको छ।
सिद्धार्थ राजमार्गको दोभान बजार नजिकका कम्तीमा ६ घर जोखिममा परेका छन्। दोभान प्रहरी चौकीका अनुसार स्थानीय सीता कुंवर, दोभान कृषि सहकारी र तिनाउ सब–डिभिजन कार्यालय, बुद्धबहादुर बस्नेत, राजबहादुर श्रेष्ठलगायतका घर जोखिममा परेका हुन्।
माथिल्लो सिद्धबाबा मन्दिरको तल्लो भागमा रहेको धर्मशाला, मन्दिरको छेउमै खहरे खोलामा आएको बाढीले ढुंगा थुपारेको पुजारी लक्ष्मीपति सापकोटाले जानकारी दिए। सडकभर ढुंगा थुप्रिएकाले सो ठाउँमा पनि आवतजावतमा कठिनाई छ। यहाँ मानवीय क्षति भने भएको छैन।
वर्षा रोकिनासाथ राजमार्ग क्षेत्रका पहिरो पन्छाउन शुरु गरिने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए। सुरक्षाकर्मी, सडक डिभिजनको समन्वयमा राजमार्गमा सवारी साधन सुचारु गर्न काममा खटिइसकेको उनले बताए।
मौसम विभागले प्रदेश ५ मा भारी वर्षा हुने बताइरहेकाले सिद्धार्थ राजमार्गमा कतिबेला कहाँ पहिरो खसेर बन्द हुन्छ भन्ने अनुमान पनि गर्न नसकिने भएकाले यो सडकमा सकेसम्म यात्रा नगर्न प्रहरीले सुझाव दिएको छ। अत्यावश्यक भएमा प्रहरीसँग जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध छ।