बुटवल-रुपन्देहीको अर्को यातायात व्यवसायीहरुको संस्था सिद्धार्थ यातायात प्रालिले बस चलाउने भएको छ।
४ महिनाको लकडाउन खुकुलो बन्दै गएपछि सिद्धार्थ यातायात व्यवसायी प्रालिले बुटवल-भैरहवा रुटमा गाडी चलाउने निर्णय गरेको प्रालिका अध्यक्ष सूर्यकुमार सारु मगरले जानकारी दिए। उनका अनुसार यही साउन ६ गते मंगलबारदेखि बुटवल-भैरहवा रुटमा सिद्धार्थ यातायातका गाडी चल्नेछन्।
'बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म आधा-आधा घण्टामा बुटवलको गोलपार्कदेखि र भैरहवाको मेडिकल कलेजदेखि बस छुट्नेछन्-उनले भने-बस चलाउँदा हामीले सरकार र डब्लुएचओले भनेअनुसारका मापदण्ड र सुरक्षाका उपाय अपनाउनेछौं।' सिद्धार्थ यातायातको गाडीमा यात्रा गर्ने यात्रुले मास्क लगाएर दुरी कायम गरी बस्नुपर्नेछ।
अध्यक्ष सारुमगरका अनुसार शुरुवाती चरणमा यो रुटमा ७ वटा गाडी चल्नेछन्। यात्रुको चाप बढ्दै गएमा गाडी थप्ने उनले बताए। सिद्धार्थ यातायातसँग २४ वटा गाडी छन्।
यसअघि लुम्बिनी मेट्रोसिटी यातायात प्रालिले बुटवल-भैरहवा रुटमा गाडी चलाइसकेको छ भने पश्चिम क्षेत्रकै सबैभन्दा धेरै गाडी रहेको पश्चिम नेपाल बस व्यवसायी प्रालिले भने गाडी चलाएको छैन।