दाङ–साउने संक्रान्ति मनाउन रोल्पा रुन्टीगढी गएका चार जना मजदुर काममा फर्किदै थिए। रोल्पाबाट पैदल हिंडेर प्युठानको भृंग्री आउदै थिए। बाटो बनाउन खटिएका अन्य मजदुरहरुलाई भेटेर सँगै जाने सल्लाह भएको थियो। बाटोमा रहेका चार जना साथीहरुलाई लिन ट्याक्टर लिएर विशाल थापा सहित चार जना भृंग्रीबाट अघि बढे। हिडेर आधा बाटोसम्म आईपुगेका चार जनालाई लिएर ट्याक्टर फर्कियो।
रातकाे समय थियो। साँघुरो सडक। त्यसमा पनि धेरै घुम्ती। कुहिरोले ढाकेको थियो। सडक छिचोलेर अघि बढ्न मुस्किल पर्यो। ‘हुस्सु लागेर बाटो राम्रोसँग देखिएको थिएन, अगाडिको ईञ्जिन बाटो छेउँको पिल्लरमा ढोक्किएर भिरतिर सोंझियो, म झस्किएँ, ट्रालीमा बसेको म हुत्तिएर बाटो छेउँको पिल्लर समात्न पुगेछु-ट्याक्टरबाट हाम फालेर बाँचेका विशाल थापाले भने–‘त्यत्तिकैमा ट्याक्टर भिरबाट खस्यो, साथीहरुलाई बचाउन सक्छु कि भनेर यता उता गरें, ट्याक्टर तलै पुगिसकेको थियो।’
क्याम्प नजिक आउनै लाग्दा स्वर्गद्वारी नगरपालिका वडा नं. ३ रुमालेको भिरबाट ट्याक्टर खस्यो। यो दृश्य अहिले पनि उनको आँखा वरिपरि नाँचिरहेको छ। साथीहरुलाई बचाउन सकिन्छ कि भनेर उनले हर प्रयास गरे। गाउँमा गुहार मागे। केही मान्छे उद्धारमा खटिए। तर, भीरबाट धेरै तल खसेको ट्याक्टर देखिएन। पहाडबाट खसेको ढुंगा लागेर उद्धारमा खटिएका एक जना घाईते भए। ट्याक्टरसंगै खसेकाहरु कोही पनि जीवित भेटिएनन्।
रोल्पा रुन्टीगढी–५ का २० वर्षीय थापाले भने-'अध्यारो र कुहिरोले ढाकेको थियो, म बाटो छेउँको पिल्लर छोपेर भिरमा खस्न बाट जोंगिएछु।’
७ जना मजदुरको घटनास्थलमै मृत्यु भयो। आइतबार बिहान घटनास्थल पुगेको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको टोलीले भिरमा छरपस्ट शवहरु एक ठाउँ संकलन गरेर पोष्टमार्टमको लागि अस्पताल पुर्याए।
‘साउने संक्रान्ति मनाउन घर गएकाहरु ट्याक्टरमा फर्कदै हुनुहुन्थ्यो, सडकको काम गर्नको लागि मजदुरहरु क्याम्पमा आउदै हुनुहुन्थ्यो, तर, क्याम्पमा नपुग्दै दुर्घटना भयो-’स्वर्गद्धारी नगरपालिका वडा नं. २ का वडा सदस्य विष्णु खनालले भने–‘हामी पनि घटनास्थलमा पुग्यौं । शव निकाल्न निकै गाह्रो परेको थियो, भिरालो ठाउँमा शवहरु थिए।’
लु १ त ४२३४ नम्बरको ट्रयाक्टर दुर्घटना हुदा एकै गाउँका ६ जना र अर्का गाउँका एक जना गरी सात जनाको मृत्यु भएको हो। रोल्पा रुन्टीगढी गाउँपालिका वडा नं. ५ बाईजा निवासी २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय विरेन्द्र बाठा मगर, १० वर्षीय थमन बाठा मगर, गोवर्धन बुढामगर, २५ वर्षीय कविराम बस्नेत, ट्याक्टर चालक त्रिवेणी गाउँपालिका निवासी २५ वर्षीय कमल कवर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरिक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए। स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको हो।