गुल्मी–परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले शनिबार कोरोना परिक्षण गर्ने पिसिआर मेसिन रेसुंगा नगरपालिकालाई हस्तान्तरण गरेका छन् । ज्ञवाली आफै हेलिकप्टर मार्फत मेसिन लिएर जिल्ला आएका थिए ।
उनले जिल्ला विपद व्यवस्थापन समिति मार्फत रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसाललाई मेसिन हस्तान्तरण गरेका हुन् ।
मन्त्री ज्ञवालीको पहलमा हिमालय एयरलाइन्सले पिसिआर मेसिन सहयोग गरेको हो । संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत आफुहरुले मन्त्री ज्ञवालीको पहलमा पिसिआर मेसिन प्रदान गरेको एयरलाइन्सका उपाध्यक्ष बिजय श्रेष्टले जानकारी दिए । केहि समय पहिलेबाट स्थानीय तहले सदरमुकाम तम्घासमा कोभिड अस्पताल र ल्याब संचालन गर्न प्रयत्न गरिरहेका छन् ।
ढुक्क हुने अवस्था छैन
मेसिन प्रदान गर्दै ज्ञवालीले कोरोना संक्रमणले सामाजिक जीवनमा अत्यन्तै ठूलो क्षति पुगेकाले अझै ढुक्क बन्ने स्थिति नभएको बताए । उनले स्रोत र साधनका हिसाबले अहिलेसम्म कोभिड बिरुद्धको लडाइँमा राम्रो सफलता मिलेको बताए ।
साथै सबैभन्दा खराब स्थिति अझै बाँकी भएकाले त्यसको तयारीमा समेत तीन वटै सरकारका संयन्त्र लाग्नुपर्नेमा ज्ञवालीले जोड दिए ।
उनले विज्ञबाट अझै पनि संक्रमणको धेरै खाले संकेतहरु आएकाले सरकारले देशमा विभिन्न स्थानमा ल्याव सञ्चालन गरिरहेको बताउँदै अहिले आएको मेसिनको उपयोगिता पनि त्यत्तिकै रहेको बताए ।
‘अहिले मेसिनको खर्चको कुरा नगरौ, मानव जीवनभन्दा खर्च ठुलो होइन,’–उनले भने,–‘सबैको सहयोगमा तुरुन्त ल्याव सञ्चालन गर्नुपर्यो ।’
भारतले कुटनीतिक पहल सुनेन
परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले भारतसंग सार्वभौम समानतासहितको सम्बन्ध चाहेको बताए । उनले सिमानाको बिषयमा आफुहरुले असल छिमेकीका नाताले दुई/दुई पटक कुटनैतिक पहल र आग्रह गरेपनी भारतले नटेरेको आरोप लगाए ।
‘भारतले कुटनीतिक पहलको गम्भीरता बुझेन बरु सडक बिस्तार भयोे,’उनले भने,‘राष्ट्रिय अखण्डताको बिषयमा सवै दलबिच अभुतपुर्व एकता गरि नक्सा पारित ग¥यौ ।’ अब पनि सवै दल र जनताको सहयोगमा कुटनीतिक पहल मार्फत नक्सामा कायम भएको भु–भाग फर्काउन प्रयत्न गर्ने ज्ञवालीले बताए ।
एकताको जगमा प्रहार नगरौ
गुल्मी आएका परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले नेकपा पार्टी कार्यालयमा नेकपा नेता कार्यकर्तालाई संबोधन गर्दै पार्टीभित्रको आन्तरिक समस्याले कुनै बिग्रह नआउने बताए ।
उनले नेकपा घरको धुरी खाँबो भएकाले भत्किए खाँबो मात्रै नभाँचिने बताए । ज्ञवालीले कोरोना क्षति र छिमेकको समस्या समाधानको पहलको सट्टा अहिलेले आन्तरिक कलह औचित्यपूर्ण नभएको प्रतिक्रिया दिए ।
‘शान्ति प्रक्रिया र सशस्त्र संघर्षबाट आएका दुई पार्टीको भावना समेट्न दुई अध्यक्ष बनाइएको हो,–उनले भने,–‘आग्रह र उत्तेजनामा आएर एकता जगमा प्रहार भत्काउन पाइदैन ।’