बुटवल-मनसुन फेरि सक्रिय हुन थालेपछि देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ। मौसमविदहरुका अनुसार आजदेखि पानी पर्ने क्रम बढ्नेछ। विशेषगरी प्रदेश १, २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै र अरु प्रदेशका थोरै ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए।
उनका अनुसार मनसुन सक्रिय हुन लागेकाले अब फेरि विस्तारै पानी पर्ने क्रम बढ्दै जानेछ। अहिले पानी परिरहेको ठाउँमा दिउँसोपछि पानी पर्न रोकिए पनि पूर्ण रुपमा भने मौसम नखुल्ने मौसमविद् अर्यालले बताए। आज पनि देशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उनको भनाई छ।
मौसम पूर्वानुमान महाशाखाले भोलि आइतबारदेखि शुक्रबारसम्म नै मनसुन सक्रिय हुने र बाढी पहिरोको जोखिम रहने भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन आग्रह गरिसकेको छ। भोलि बेलुकीदेखि मनसुन सक्रिय हुन लागेकाले देशभरी नै झरी पर्ने र थोरै ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै आवश्यक पूर्वतयारी र विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो।
महाशाखाकी प्रवक्ता वरिष्ठ मौसमविद् डाक्टर अर्चना श्रेष्ठका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश ५ का केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै ठाउँमा ठूलो र एक दुई ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना छ।
विशेषगरी भोलि बेलुकीदेखि आउँदो बुधबारसम्म मनसुन निकै सक्रिय हुने देखिएको उनले जानकारी दिइन्। यसकै प्रभावले सोमबारदेखि बुधबारसम्म प्रदेश ५ को तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदी, कर्णाली प्रदेशको भेरी, पश्चिम सेती र यसका सहायक नदीमा बाढी आउने सम्भावना छ।
प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका मध्य पहाडी, चुरे र तराईबाट बहने नदीमा एक्कासी बाढी आउने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दा विशेष सतर्क हुनुपर्नेछ। यस्तै सोमबारदेखि बिहीबारसम्म प्रदेश १ र २ तथा वाग्मती र गण्डकी प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, बुढीगण्डकी, मस्र्याङ्दी कालीगण्डकी तथा तिनका सहायक नदीमा बाढीको उच्च जोखिम छ।
यी ठाउँमा आउँदो शुक्रबारसम्म नै बाढी र पहिरोको जोखिम भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन मौसमविद्को सुझाव छ।
श्रावण ३ ,बिहान ८ बजे पछिल्लो ६ घण्टामा सप्तरीको #राजबिराज लगायत सुनसरी र सिराहको भारतीय #सीमा आसपास अति भारी बर्षा...
Posted by नेपाल बाढी सूचना-Nepal Flood Alert on Friday, July 17, 2020