बुटवल-सिद्धार्थ राजमार्गअन्तरगत बुटवल-तानसेन सडकखण्डको गौडेपुलनजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ। प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
तानसेन नगरपालिका–८ गौडेपुल नजिकै शुक्रबार राति १०ः३० बजे गौडे पुल नजिकै पहिरो खस्दा सडक अरुद्ध बनेको हो।
पहिरो खसेको स्थानमा फसेको लु १ क ११७५ नम्बरको ट्रक पुनः पहिरो आइ पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए। उनले पहिरो खसेको स्थानमा रहेका ट्रक ब्याक गर्ने क्रममा नालामा फसेको अवस्थामा पुरिएको बताए। तर कुनै मानवीय क्षति भएको छैन। उनी भन्छन्, ‘सडक सुचारु गर्नको लागि दुईतर्फबाट जेसिबी लगाउने तयारीमा छौं। सडक सुचारु हुन ४-५ घण्टा निरन्तर काम गर्दा पनि लाग्न सक्छ।’
बिहिबार पनि पहिरो सफा गरेको र यो पहिरो खस्ने क्रम नरोकिएकोले जोखिम भने कायमै रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।